राजीनामाको दवावमा गृहमन्त्री लेखक, कांग्रेसको एक गुटले च्यापे पनि संसद्मा अवरोध

टुरिजमफेस
काठमाडौं । भिजिट भिसामा जाने नेपालीसँग सिंगो सचिवालयका कर्मचारीले नै असुली गरेको लागेपछि गृहमन्त्री रमेश लेखकले छानविनका लागि बाटो खोलिदिनु पर्ने आवाजलाई अटेर गर्दै नेपाली कांग्रेस संस्थापन समूहले उल्टै राजीनामा माग गर्नेलाई कारवाही गर्ने निर्णय गरे पनि प्रतिनिधि सभामा विपक्षी सांसदहरूले राजीनामालाई मुख्य माग बनाएका छन् ।
भिजिट भिसा प्रकरणमा गृमहन्त्री पनि मुछिएको आरोप लगाउँदै लेखकले राजीनामा दिनुपर्ने माग गर्दै मंगलवार प्रतिपक्षी दलहरूले संसद् अवरुद्ध पारे ।
सभामुख देवराज घिमिरेले बैठकको कामकारबाही सुरु गर्नेबित्तिकै विपक्षी दलका सांसदहरूले बैठक अवरुद्ध गरे । त्यहीबीचमा बोल्दै प्रमुख प्रतिपक्षी दलका सांसद वर्षमान पुनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसाको नाममा करोडौं असुलेर मानव तस्करी गरिएकोले बताउँदै गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने माग गरे । उनले गृहमन्त्री लेखकले राजीनामा नदिएसम्म संसद्को कारबाही अघि बढ्न नदिने चेतावनी दिए ।
अख्तियारले भिजिट भिसामा सेटिङ गरेको आरोपमा विमानस्थलका अध्यागमन अधिकृतसहित चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिहेको छ । गृहमन्त्रीको राजीनामा माग्नेहरूमा माओवादीसहित राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका विपक्षी दल छन् । कांग्रेसकै संस्थापनइतरका नेताहरूले पनि गृहमन्त्रीको राजीनामा माग गरिरहेका छन् ।