७२ औं सगरमाथा दिवस यस्ता कार्यक्रमका साथ मनाइँदै

फाइल तस्बिर सगरमाथा चढ्दै गरेका आरोहीहरू
टुरिजमफेस
काठमाडौं । मे २९ अर्थात नेपाली तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका सर एडमन्ड हिलारीले पहिलो पटक विश्वको सर्वोच्च शिखर सगरमाथामा पाइला टेकेको दिन । यही दिनको अवसरमा मनाउन थालिएको अन्तर्राष्ट्रिय सगरमाथा दिवस बिहीवार नेपालमा पनि भव्य रूपमा मनाइँदै छ ।
यस दिनले विश्वलाई मानवीय साहस र क्षमताको ऐतिहासक परिचय दिएकाले विश्वभरि हर्षोउल्लासका साथ विविध कार्यक्रम गर्ने गरिन्छ ।
सन् १९५३ मे २९ मा पहिलोपटक सगरमाथामा मानव पाइला परेको आज ७२ औं वर्ष भइसक्दा पनि हरेक वर्ष नयाँ नयाँ रौनकताका साथ दिवस मनाउने क्रम जारी छ ।
नेपालमो भव्य रूपमा सगरमाथा दिवस मनाउन सरकारले विभिन्न कार्यक्रम बनाएको छ । दिवस मनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा मूल समारोह समिति बनाइएको छ ।
मन्त्री पाण्डेले दिवसलाई भव्य रूपमा मनाउन सबै सरोकारवाला सहकार्य गरिएको बताएका छन् । जस अनुसार प्रभातफेरीदेखि ‘सगरमाथा समिटर्स समिट’ सम्मका कार्यक्रम आयोजना गरिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा कीर्तिमानी आरोहीका अनुभव आदान–प्रदान गर्ने कार्यक्रम पनि छ ।
त्यस्तै साहसिक पर्यटन प्रवद्र्धन तथा जलवायु परिवर्तनले हिमालमा पारेको प्रभाव, जैविक विविधता जस्ता विषयमा छलफल पनि हुनेछन् ।
यही दिवसकै अवसरमा विभिन्न कीर्तिमानी आरोहीलाई सम्मान गरिने कार्यक्रम छ । सरकारलाई निजी क्षेत्रका विभिन्न निकायले सगरमाथा दिवस मनाउनका लागि साथ र सहयोग गर्दै आएका छन् । पर्यटन विभागले कीर्तिमानी आरोहीहरू र पर्वतीय पर्यटन व्यवसायीहरूलाई सम्मान गर्ने कार्यक्रम राखेको छ ।
फाइल तस्बिर सगरमाथा चढ्दै गरेका आरोहीहरू