पर्यटकलाई सम्मान नगर्ने तर पर्यटक आएनन् भनेर कहिलेसम्म गनगन ?

यातायात व्यवसायीका बन्दका कारण पोखरामा अलपत्र पर्यटक बसलाई स्कर्टिङ गर्दै सुरक्षाकर्मी
टुरिजमफेस
काठमाडौं । अन्य देशको तुलनामा नेपाल आउने पर्यटकको संख्या निकै कम रहेको तथ्य हामी सामु छ । पर्यटक नआउनुमा विभिन्न कारण छन् । तीमध्येको एउटा कारण नेपाल आएका पर्यटकले सम्मान नपाउनु उल्टै अनेक बहानामा झमेला खेप्नु पनि हो ।
मनोरञ्जनका लागि आएका पर्यटकले कहिले बस व्यवसायीको त कहिले होटल व्यवसायी वा कहिले राजनीतिक दल तथा कहिले विभिन्न स्वार्थसमूहको निशानामा पर्नुपर्ने बाध्यता वर्षौंदेखि रहँदै आएको छ, जुन आजपर्यन्त कायम छ ।
यही समस्याको मारमा पोखरा घुम्न आएका पर्यटक परेका छन् । सार्वजनिक यातायात बचाऊ संघर्ष समिति गण्डकी प्रदेशले जेठ १६ गतेदेखि गण्डकी प्रदेशमा सार्वजनिक यातायात बन्द गर्दा सयौं पर्यटक अलपत्र परेका छन् । कतिपय त बेखर्ची हुन थालेको गुनासो छ । पोखराका पर्यटक व्यवसायीले पर्यटकलाई अप्ठेरो पर्ने कुनै काम नगर्न भनेपनि बन्दकर्ताले कुनै मतलव गरेका छैनन् । उल्टै पर्यटक बसलाई अवरोध गरिरहेका छन् ।
सशस्त्र प्रहरीले थाल्यो स्कर्टिङ
यसैबीच पोखरामा अलपत्र परेका यात्रुलाई सशस्त्र प्रहरीले गन्तव्यसम्म लैजान स्कर्टिङ सुरु गरेको छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले अलपत्र पर्यटक बसलाई स्कर्टिङ गरी विभिन्न गन्तव्यमा लैजाने काम भइरहेको बताए । उता पोखरा पर्यटन परिषद्ले पर्यटक चढ्ने सवारीसाधनमा अवरोध नगर्न चेतावनी दिएको छ ।
‘पर्यटनको राजधानी पोखरा र गण्डकी प्रदेशमा पर्यटक सवारीसाधनहरू सञ्चालनको क्रममा भएको अवरोधप्रति पोखरा पर्यटन परिषद्को गम्भीर ध्यानाकर्षण भएको छ,’ परिषद्का अध्यक्ष तारानाथ पहारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
पर्यटक चढ्ने सवारीसाधनमा अवरोध हुँदा समग्र पर्यटन व्यवसायमा प्रतिकूल असर पर्नुको साथै पर्यटकहरूमा नकारात्मक सन्देश प्रवाह हुने भन्दै पर्यटन व्यवसायीले चिन्ता व्यक्त गरेका छन् ।
यातायात व्यवसायीका बन्दका कारण पोखरामा अलपत्र पर्यटक बसलाई स्कर्टिङ गर्दै सुरक्षाकर्मी