आहा ! अंगुरखेती

टुरिजमफेस
तनहुँ । तनहुँको घिरिङ गाउँपालिका–४ स्थित बाह्रबिसेमा गत वर्षदेखि करिब ७० रोपनी क्षेत्रफलमा व्यावसायिक अंगुरखेती गरिएको छ । घिरिङ भाइनएड एन्ड रिसर्च सेन्टर कम्पनीले खेती सुरू गरेको हो ।
कम्पनीले स्विट्जरल्यान्डबाट प्रतिबिरूवा ७०० देखि एक हजारसम्म खर्च गरेर गत वर्षदेखि खेती सुरू गरेको उद्यमी एवं सञ्चालक कुमार कार्कीले जानकारी दिए । ‘पहिलो वर्ष करिब नौ हजार ५०० बिरुवा रोपेका थियौं । धादिङमा ३८ करोड ५० लाख र तनहुँ डेढ करोड गरी ४० करोड लगानी गरिसकेको छु,’ उनले भने ।
यहाँ यस वर्ष पनि अंगुर फलेर टिप्ने कार्य सुरु भइसकेको छ । उत्पादित अंगुर तनहुँ, पोखरा, काठमाडौंलगायत क्षेत्रबाट व्यवसायी फार्ममा आएर लैजाने गरेको उद्यमी कुमार कार्कीले जानकारी दिए ।
‘पहिलो वर्ष १८ लाख मूल्य बराबरको अंगुर उत्पादन भएको थियो, यस वर्ष पनि सोही अनुपातमा उत्पादन हुने अपेक्षा गरेका छौं,’ उनले भने ।
कार्कीका अनुसार फार्ममा हाल २०÷२२ प्रजातिका अंगुर छन् । त्यसमध्ये केही खानका लागि त केही वाइन बनाउनका लागि प्रयोग हुन्छन् । खाने अंगुर प्रतिकिलोग्राम ३५० र वाइन बनाउने प्रतिकिलो २५० मा बिक्री गर्ने गरिएको छ । हाल दैनिक १०÷१२ जना जनशक्ति अंगुर टिप्नका लागि खटाइएका छन् ।
फार्ममा रहेका २०÷२२ प्रजातिका अंगुर परीक्षणका लागि खेती गरिएकामध्ये करिब १० प्रजाति उत्पादनमा राम्रो भएको कार्कीले जानकारी दिए ।
सोही कम्पनीले धादिङबाट भाइएड वाइनरी नामक वाइनसमेत उत्पादन गरिरहेको छ । कम्पनीको वार्षिक तीन लाख लिटर वाइन उत्पादन गर्ने क्षमता रहेको छ । प्रति ७५० एमएलको वाइनतर्फ तीन प्रकारका वाइन उत्पादन गरिएका र ती प्रतिबोतल एक हजार २०० मा बिक्रीका लागि बजारमा ल्याइएका व्यवसायी कार्कीले बताए ।
धादिङको जुंगेखोला केवलपुर दशथाक्रे गाउँपालिकामा समेत विगत १५ वर्षदेखि १५० रोपनीमा व्यावसायिक अंगुरखेती गर्दै आएको उनले बताए । वाइनका लागि अंगुर प्रशोधनलगायत उत्पादन उद्योगसमेत सोही स्थानमा स्थापना गरिएको छ । विशेष गरी जुस, वाइन तथा खानाका लागि अंगुरखेती गरिएको कार्कीको भनाइ छ ।
अंगुरको बोट रोपेको एक वर्षमा फल दिन सुरू गर्छ भने पहिलो वर्षमा प्रतिबोट तीनदेखि चार केजी उत्पादन हुने गरेको छ । चैत÷वैशाखमा फूल फुलेसँगै करिब तीन महिनामा फल टिप्न तयार हुने गरेको छ। मासिक घाँस कटाइ, बिरुवा गोडमेल, मल तथा अन्य व्यवस्थापकीय काममा स्थानीयहरूले पनि काम पाएका छन् । यसका लागि ज्यालादारीमा कामदार खटाउने गरिएको कार्कीले बताए ।
विगतदेखि नै पर्यटन क्षेत्रमा काम गरिरहेकाले कृषि क्षेत्रमा नयाँ काम गर्ने ध्येयले यस खेतीतर्फ आकर्षित भएको उनले भने । धादिङमा भएको फार्मका लागि बागमती प्रदेश बिग फार्म नामक कार्यक्रम शीर्षकमा नेपाल सरकारबाट ५५ लाख बराबरको अनुदान दिएपछि काम गर्न थप हौसला मिलेको कृषक कार्कीले बताए ।
‘यो मेरो नयाँ पेसा पनि हो, लामो अध्ययन अनुसन्धानपछि यसका लागेको छु । हालसम्म राम्रै भइरहेको छ। यहाँ आउने धेरैले आहा ! कति राम्रो अंगुरखेती भनेर प्रशंसा पनि गर्छन् । सरकारले पनि अनुदान सहयोग गरेर थप हौसला प्रदान गरेको छ,’ उनले भने ।