दैलेखमा १ अर्ब १२ करोड घनमिटर मिथेन ग्याँस रहेको पुष्टि, नेपाललाई ५० वर्ष पुग्ने !

टुरिजमफेस
काठमाडौं । दैलेखमा ११२ करोड घनमिटर प्राकृतिक ग्याँस रहेको चिनियाँ अध्ययनको प्रारम्भिक रिपोर्टले देखाएको छ । उक्च परिमाणको ग्यासले नेपालको आगामी ५० वर्षको माग धान्ने दाबी गरिएको छ ।
चीनको सरकारी निकाय चाइना जिओलोजिकल सर्भेको भौगर्भिक अध्ययन र चीनकै सीएनपीसी सीबु इन्जिनियरिङ कम्पनीले २ वर्ष लगाएर गरेको अध्ययनको प्रारम्भिक रिपोर्टबाट सरकार मख्ख परेको छ ।
२०८० वैशाख २८ गतेदेखि ड्रिलिङ सुरु गरेको चिनियाँ टोलीले करिब ४ हजार मिटर गहिराइसम्म खनेर दैलेखमा मिथेन ग्यासको भण्डार रहेको पत्ता लगाएको हो ।
अध्ययनको सुरुवातमा जमिन मुनिबाट ग्याँसको गन्ध आए ग्याँसको मात्रा र गुणस्तर लगायतका कुरा परीक्षण गर्न त्याहााको चट्टान चीनकै प्रयोगशालामा लगिएको थियो । चीनमा गरिएको परीक्षणबाट त्याहाँ १ अर्ब १२ करोड घनमिटर मिथेन ग्यास रहेको पुष्टी भएको उद्योग मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।
मिथेन ग्याँस पेट्रोल–डिजेल भन्दा कम खराब हुन्छ । मिथेन ग्याँसबाट गाडी चलाउन र बिजुली उत्पादन गर्न पनि सकिन्छ । त्यस्तै मिथेन ग्याँसबाट हाइड्रोजन छुट्टाएर अमोनिया ग्याँस निकाली मल कारखाना सञ्चालनमा पनि प्रयोग गर्न सकिने विज्ञहरुले बताएका छन् ।
नेपालमा उत्पादित प्राकृतिक ग्याँसलाई व्यवसायिक प्रयोजनमा ल्याउन सके आर्थिक उन्नतिमा देशले फड्को मार्ने सरकारी अपेक्षा छ । तर उक्त ग्यासको परीक्षण उत्पादनमै ६५ अर्ब रुपैयाँ लाग्ने हुँदा सरकारलाई यसको सुरुवात गर्न भने महँगो पर्ने देखिएको छ ।
दैलेखका विभिन्न स्थानहरुमा परापूर्वकालदेखि नै आगोको ज्वाला बल्ने ठाउँमा स्थानीयले दैवी शक्ति भन्दै पूजा गर्दै आएका थिए । तर, अहिले चिनियाँ टोलीले भने त्याहाँ विशाल ग्यास भण्डार रहेको पत्ता लगाउँदै नेपाललाई कम्तिमा ५० वर्षसम्म पुग्ने इन्धन उत्खनन गर्न सकिने देखाएको हो ।