हेलम्बुको नयाँ आकर्षण ‘छ्यादी घ्याङ’ : प्रकृति, संस्कृति र साहसिक पदयात्राको अद्वितीय संगम
Tourism Face Banner News, NEWS 0
काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु क्षेत्र पछिल्लो समय नेपालकै उदीयमान पर्यटकीय गन्तव्यका रूपमा परिचित बन्दै गएको छ। निर्माणाधीन हेलम्बु हिमालयन ग्रेट ट्रेल र त्यससँग जोडिएको छ्यादी घ्याङ ले धार्मिक, सांस्कृतिक तथा प्राकृतिक पर्यटनलाई नयाँ आयाम दिएको छ।
समुद्र सतहबाट करिब ४,२०० मिटर उचाइमा अवस्थित छ्यादी घ्याङ पुग्ने यात्रामा पर्यटकले घना जंगल, लालीगुराँसले सजिएका डाँडाकाँडा, विभिन्न प्रजातिका हिमाली फूल, बौद्ध चैत्य र मनोरम हिमशृङ्खलाको अवलोकन गर्न सक्छन्। यही विविधताले हेलम्बुलाई प्रकृतिसँगै स्थानीय संस्कृति अनुभूति गर्ने उत्कृष्ट गन्तव्य बनाएको छ।
काठमाडौंबाट मेलम्ची हुँदै पुगिने यो क्षेत्रमा हालसम्म करिब ७ किलोमिटर हेलम्बु हिमालयन ग्रेट ट्रेल निर्माण भइसकेको छ। पदयात्राका क्रममा लाङटाङ राष्ट्रिय निकुञ्जभित्र पर्ने घना वन, शीतल वातावरण र हिमाली जैविक विविधताले यात्रुलाई फरक अनुभव प्रदान गर्छ।
यात्राका क्रममा सागबारी क्षेत्रमा मौसमको अचानक परिवर्तनसँगै वर्षा र असिनापानीको सामना गर्नुपर्ने भए पनि करिब नौ घण्टाको पदयात्रापछि ठारेपाटी पुग्न सकिन्छ। ठारेपाटीमा पर्यटकका लागि आवासको सुविधा उपलब्ध छ भने यही स्थानबाट प्रसिद्ध गोसाइँकुण्ड जाने पदमार्ग पनि जोडिएको छ। ठारेपाटीबाट थप करिब दुई घण्टाको पैदल यात्रापछि छ्यादी घ्याङ पुगिन्छ।
पर्यटनसँगै संरक्षणमा जोड
हेलम्बु गाउँपालिकाले पनि यस क्षेत्रको पर्यटन विकासलाई प्राथमिकतामा राख्न थालेको छ। २०८३ जेठ २४ गते गाउँपालिकाले छ्यादी घ्याङको फेदीमै कार्यपालिका बैठक आयोजना गर्दै पर्यटन प्रवर्द्धन, जलवायु परिवर्तनका असर न्यूनीकरण, हिमनदी तथा हिमाली पारिस्थितिक प्रणाली संरक्षण र दिगो विकासका विषयमा छलफल गरेको थियो।
गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाका अनुसार बैठकले प्राकृतिक तथा सांस्कृतिक सम्पदाको संरक्षण गर्दै पर्यटन पूर्वाधार विस्तार र गन्तव्य प्रवर्द्धनका लागि विभिन्न नीतिगत निर्णय गरेको छ।
उनले हेलम्बुमा अझै धेरै सम्भावनायुक्त पर्यटकीय स्थल रहेको उल्लेख गर्दै ती गन्तव्यको व्यवस्थित विकास गर्न सके आन्तरिकसँगै अन्तर्राष्ट्रिय पर्यटक आकर्षित गर्न सकिने विश्वास व्यक्त गरे।
पर्यटन व्यवसायीहरूका अनुसार हेलम्बु हिमालयन ग्रेट ट्रेल पूर्ण रूपमा सञ्चालनमा आएपछि हेलम्बु क्षेत्र पदयात्रा, धार्मिक पर्यटन, इको–टुरिज्म र हिमाली संस्कृतिमा रुचि राख्ने पर्यटकका लागि महत्वपूर्ण गन्तव्यका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।
