काठमाडौं आउने पर्यटकमध्ये अधिकांश हनुमानढोका पुग्छन्, यस्तो छ कारण

टुरिजमफेस
काठमाडौं । काठमाडौं आउने पर्यटकमध्ये अधिकांश हनुमानढोका पुग्ने गरेको पाइएको छ । चालु आर्थिक वर्षको हालसम्म सार्क राष्ट्रबाट ३५ हजार ७८५ र अन्य देशबाट एक लाख ४५ हजार ६२५ ले हनुमानढोका दरबार क्षेत्रको अवलोकन गरिसकेका छन् ।
हनुमानढोका घुम्नका लागि पर्यटकीय मौसममा दैनिक ७०० सम्म पर्यटक आउने गरेका छन् । विशेषगरी भदौ, असोज र कात्तिकमा पर्यटक बढी आउने गरेको हनुमान ढोका दरबार संरक्षण कार्यक्रमका प्रमुख चन्द्रगोपाल प्रधानले बताए । उनका अनुसार गत आवमा सार्क राष्ट्रबाट ४७ हजार ३९९ र अन्य देशबाट एक लाख ५३ हजार २६२ पर्यटक आएका थिए । इन्द्रजात्राको समयमा अन्य समयभन्दा धेरै पर्यटक आउने गरेका छन् ।
विशेषगरी हनुमानढोका घुम्न आउने पर्यटकको प्रवेश शुल्क नै कार्यालयको आम्दानी हो । सार्क राष्ट्रका नागरिकका लागि ५०० र अन्य मुलुकबाट आउने पर्यटकका लागि एक हजार शुल्क निर्धारण गरिएको छ । नेपालीलाई प्रवेशका लागि शुल्क नलागे पनि सङ्ग्रहालय अवलोकनमा भने शुल्क लाग्ने गरेको छ ।
पर्यटक बढेसँगै हनुमान ढोका दरबार संरक्षण कार्यक्रमको आम्दानीमा पनि वृद्धि भएको छ । गत आर्थिक वर्षको वैशाख पहिलो सातासम्म १४ करोड ६ लाख ६३ हजार पर्यटन शुल्क संकलन गरेकामा चालु आवको सोही अवधिमा १५ करोड २६ लाख ३५ हजार संकलन भइसकेको कार्यक्रमका प्रमुख चन्द्रगोपाल प्रधानले जानकारी दिए । हनुमानढोका भ्रमण गर्ने अधिकांश पर्यटक खुशी हुने गेको उनको भनाइ छ । ‘ऐतिहासिक महत्व बोेकेको कारणले पनि होला अधिकांश पर्यटकको चाहना हनुमानढोका पुग्ने हुन्छ,’ उनले भने ।