साहसिक यात्राका लागि नेपाल संसारकै सातौं गन्तव्य

टुरिजमफेस
काठमाडौं । नेपाल सन् २०२५ को एकल साहसिक यात्रा (सोलो एड्भन्चेर ट्राभल) गन्तव्यको सातौं स्थानमा परेको छ । बेलायतस्थित साहसिक पर्यटन कम्पनी ‘मच बेटर एड्भेन्चर्स’ ले सार्वजनिक गरेको सूचीमा नेपाल सातौं स्थानमा परेको हो ।
मच बेटर एड्भेन्चरको सूचीका लागि नेपाललाई अद्वितीय भू–दृश्य, समृद्ध संस्कृति, बजेटमैत्री सेवा र विविध साहसिक गतिविधिका लागि उच्च मूल्याङ्कन गरिएको छ । जसमा एभरेष्ट बेसक्याम्प ट्रेक, अन्नपूर्ण सर्किट, र चितवन राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीजस्ता गतिविधिले नेपाललाई आत्मिक शान्ति खोज्ने र साहसिकतामा रमाउने एकल पर्यटकहरूको प्रमुख रोजाइमा रहेको उल्लेख छ ।
नेपालको यात्रा लागत औसतमा सस्तो पर्ने भएकाले नेपाललाई बजेटमैत्री गन्तव्यका रूपमा पनि मूल्यांकन गरिएको छ । जसमा भनिएको छ, ‘नेपालमा सस्तो आवास, सहुलियतपूर्ण प्याकेज र प्रचुर सांस्कृतिक तथा प्राकृतिक अनुभव पाउन सकिन्छ ।’ मच बेटर एड्भेन्चर्सका सहसंस्थापक स्याम ब्रुसका अनुसार यो सूची विशेषज्ञहरूको सुझाव र ग्राहकको यात्रा अनुभवका आधारमा तयार गरिएको हो ।
जसमा सुरक्षा, दिगोपन, पहुँचयोग्य, र लोकप्रियता जस्ता पक्षहरू समेटिएका छन् । उनी भन्छन्, ‘नेपालले एकल यात्रुहरूलाई अद्भुत प्रकृति, गहिरो आध्यात्मिकता र हार्दिकतापूर्ण सत्कार प्रदान गर्छ – चाहे त्यो काठमाडौंका व्यस्त गल्लीहरू हुन् वा हिमाली क्षेत्रका शान्त र रमणीय स्थलहरु नै किन नहुन् ।’
त्यसैगरी मच बेटर एड्भेन्चर्सका कन्टेन्ट म्यानेजर किस्र्टी होल्म्सले भर्खरै नेपालको एकल यात्रा गरेकी थिइन् । उनले आफ्नो अनुभव लेखेकी छन्, ‘अन्नपूर्णमा हिँड्दा र चितवनमा घुम्दा म आफू घरमा पुगेको अनुभूति भयो ।’
मच बेटर एड्भेन्चर्सको प्रमुख १० गन्तव्यमा इटाली पहिलो नम्बरमा छ भने क्रमशः जापान, नर्वे, स्पेन, अल्बानिया. पोर्चुगल, नेपाल, मोन्टेनेग्रो, जोर्डन र ग्रीस छन् । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले यस्ता अन्तर्राष्ट्रिय सूचीकृत सफलतालाई बोर्डले अवसरका रूपमा प्रयोग गर्दै थप रणनीतिक प्रवर्द्धन र गन्तव्य सुधारका पहलहरू अघि बढाइने बताए ।