मलेसियालाई समुन्नत बनाउने महाथिरको जाँगर १०० वर्षमा पनि उस्तै

टुरिजमफेस
काठमाडौं । मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मद १०० वर्ष पुगेका छन् । तैपनि उनी मलेसियाको राजनीतिमा उत्तिकै सक्रिय छन् । उनलाई मानसिक र शारीरिक स्वास्थ्यले पनि साथ दिएको छ ।
पछिल्ला केही दिनयता महाथिरलाई सामाजिक सञ्जालमा प्रशंसकहरूले शुभेच्छा प्रकट गरिरहेका छन् । खासगरी मुस्लिम विश्वमा उनलाई पश्चिमविरुद्ध बोल्नसक्ने नेताको रूपमा प्रशंसा गर्ने गरिन्छ ।
दुईपटक गरी २४ वर्ष मलेसियाको सत्तामा रहेका उनले सो देशमा कहिल्यै नमेटिने प्रभाव छाडेका छन् । शताब्दी टेक्नुअघिको अन्तिम दिन पनि उनले आफ्नो कार्यालयमा उसैगरी बिताए, जसरी अरु दिन बिताउने गर्थे। मानिसहरूसँग भेटघाट र लेखपढ गर्दै ।
पूर्वयुवामन्त्री सइद सिद्दिक सइद अब्दुल रहमान सय वर्षको उमेरमा पनि महाथिरको सक्रियता अरुलाई लज्जित तुल्याउने खालको रहेको बताउँछन् ।
‘उहाँ अझै पढ्नुहुन्छ, लेख्नुहुन्छ, कसरत गर्नुहुन्छ, स्पष्ट रूपमा बोल्नुहुन्छ । यी सबै कुरा तन र मन तीक्ष्ण राख्ने हो भने उमेर भनेको एउटा अंक मात्रै रहेछ भन्ने कुराका प्रमाण हुन्,’ सइद भन्छन् ।
आफ्नो दीर्घजीवनबारे महाथिरले भन्ने गरेका छन्, ‘अघाउञ्जेल नखाने ।’ हुन पनि ४० वर्षयता उनले आफ्नो तौल ६२ किलो कायम राखेका छन् ।
‘तपाईं उहाँको राजनीतिमा असहमत हुन सक्नुहुन्छ, तर उहाँ मलेसियाको सबैभन्दा परिचित र उल्लेखनीय राजनेता हो भन्ने तथ्यलाई अस्वीकार गर्न सक्नुहुन्न,’ सइद भन्छन् ।
महाथिरको राजनीतिक प्रभाव अहिले कमजोर भएको छ । २०२२ को चुनावमा उनले आफ्नो सिट जोगाउन सकेनन् । उनी आफ्नै पार्टीबाट अलग भए । तथापि, उनी मलेसियाको राजनीतिमा एउटा शक्तिका रूपमा अझै कायम छन् । उनी सधैँ राजनीतिक घटनाक्रमबारे तिखो टिप्पणी गरिरहन्छन् ।
थुप्रैले महाथिरलाई उनीपछिका प्रधानमन्त्री अब्दुल्लाह अहमद बदावीजसरी शान्त निवृत्त जीवन बिताउन सुझाव दिएका छन् । तर, महाथिरलाई आफ्नो जिम्मेवारी ज्यादा रहेको महसुस हुन्छ । ‘मान्छेहरू आफ्नो समस्या लिएर मकहाँ आउँछन् र केही भनिदिनुप¥यो भन्छन् । त्यसैले म मौन बस्न सक्दिनँ,’ उनले गत मेमा एक अन्तर्वार्तामा भनेका थिए ।
महाथिर सधैँ कार्यालयमा सबैभन्दा अगाडि आउँछन् र सबैभन्दा पछाडि निस्किन्छन् । पहिलो कार्यकालमा प्रेसलाई मुठ्ठीमा राखेका उनी दोस्रो कार्यकालपछि प्रेस स्वतन्त्रता पक्षधर भएका छन् ।
सय वर्ष पुग्दै गर्दा उनी आफ्नो दीर्घजीवनबारे पनि ठट्टा गर्ने गर्छन् । समर्थकहरूले ‘महाथिर जिन्दावाद’ को नारा लगाउँदा उनी भन्ने गर्छन्, ‘म अझै जिउँदै छु ।’ पछिल्लो समय उनी पडकास्टमा निरन्तर देखिइरहेका छन् जसमा उनी स्थानीय र विश्वव्यापी मुद्दामा बोलिरहेका हुन्छन् ।
एजेन्सीको सहयोगमा तयार पारिएको