धरहरा चढ्ने पर्यटकबाट सरकारले पायो ७ महिनामा ५ करोड रुपैयाँ, साढे २ लाख चढे धरहरा

फाइल फोटो : रासस
टुरिजमफेस
काठमाडौँ। विसं २०७२ को भूकम्पले पुरानो धरहरा पूर्ण रूपमा क्षति भएपश्चात् अवशेषकै छेउमा पुनः निर्माण गरेर सञ्चालनमा ल्याइएको धरहराबाट छोटो समयमै करिब ५ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।
गत मङ्सिर ९ गतेदेखि शुल्कसहित सञ्चालनमा आएको धरहराबाट यही असार २४ गतेसम्ममा चार करोड ८३ लाख ६५ हजार ५०० रुपैयाँ राजस्व सङ्कलन भएको अन्तरिम धरहरा सञ्चालन तथा व्यवस्थापन कार्यालयले जनाएको छ ।
उनका अनुसार यस अवधिमा दुई लाख ६२ हजार ५५५ जनाले धरहराको अवलोकन गरेका छन् । जसमा एक हजार ५४९ जना विदेशी अवलोकनकर्ता रहेका छन् । हप्ताको एक दिन बुधबार बन्द हुनेबाहेक अन्य दिन दैनिक करिब एक हजार २०० जनाले धरहरा चढ्ने गरेका छन् ।
बिहान १०:३० बजेदेखि साँझ ५ बजेसम्म धरहरा चढ्ने व्यवस्था गरिएको छ । तर, धरहरा हेर्न जाने सबैले टिकट भने पाउँदैनन् । बिहानदेखि साँझसम्मै धरहरा चढ्ने व्यवस्था गर्न सक्ने हो भने दैनिक एक हजार ५०० बढीले धरहरा चढ्ने अनुमान गरिएको छ ।
धरहरा चढ्न प्रतिव्यक्ति २०० रुपैयाँ शुल्क तोकिएको छ । विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका अपाङ्गता भएका व्यक्तिहरूले ५० प्रतिशत छुटमा धरहरा चढ्न पाउने व्यवस्था छ । सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति ५०० रुपैयाँ र सार्कबाहेक राष्ट्रबाट आउने पर्यटकका लागि प्रतिव्यक्ति १००० रुपैयाँ शुल्क तोकिएको छ ।
धरहरा परिसरमा मात्र प्रवेश गर्नका लागि ५० रुपैयाँ, धरहरा स्तम्भमा राष्ट्रिय महत्वका विज्ञापन गर्न र व्यावसायिक भिडियो छायाङ्कनका लागि प्रतिघण्टा पाँच हजार रुपैयाँ र फोटोग्राफीका लागि प्रतिघण्टा एक हजार रुपैयाँ शुल्क तोकिएको छ ।
धरहरा चढ्नको लिफ्टको व्यवस्था गरिएको छ । एकपटकमा ६ जना मात्रै अट्ने दुई वटा लिफ्टबाट धरहरा चढ्न र ओर्लन सकिन्छ । लिफ्टको क्षमता कम भएका कारण धरहरा चढ्नेहरुको लामो लाइन लाग्ने गर्छ । लिफ्टको क्षमता १०/१० जना मात्रै हुन सकेको भए धरहरामा दैनिक २ हजारसम्म पर्यटक सहजै आउजाउ गर्न सक्ने अवस्था छ ।
फाइल फोटो : रासस