क्यासिनो सञ्चालनमा सहज कानुनसँगै पुँजी बढाइयो, अरु के भए फेरबदल ?

टुरिजमफेस
काठमाडौं । सरकारले क्यासिनो सञ्चालन नीतिको परिमार्जन गरेको छ । सीमावर्ती नाकामा क्यासिनो खोल्न सहज नीति लिएको छ भने चुक्ता पुँजी, इजाजत, आवेदन दस्तुरलगायतका शुल्कमा भने वृद्धि गरिएकोे छ ।
नयाँ नियम अनुसार साना, ठूला क्यासिनो खोल्नका लागि चुक्ता पुँजी ५ करोड रूपैयाँले वृद्धि गरिएको छ । नयाँ क्यासिनो नियमावली अनुसार क्यासिनो खोल्न अबदेखि न्यूनतम पुँजी २० करोड रूपैयाँ हुनैपर्ने व्यवस्था गरिएको छ । यसअघि क्यासिनो खोल्न कम्तीमा १५ करोड रूपैयाँ चुक्ता पुँजी भए हुन्थ्यो ।
यस्तो व्यवस्था आधुनिक मेसिन वा विद्युतीय उपकरणको माध्यमबाट मात्र खेलाइने साना क्यासिनोको हकमा लागू हुनेछ । ठूला क्यासिनोको लागि भने कम्तीमा ३० करोड चुक्ता पुँजी हुनुपर्ने व्यवस्था गरिएको छ । यसअघि यस्ता क्यासिनोलाई २५ करोड चुक्ता पुँजी हुनुपर्ने व्यवस्था गरिएको थियो ।
ठूला क्यासिनोले १५ लाख र साना क्यासिनोले दश लाख रूपैयाँ निवेदन दस्तुर दिएर आवेदन दिन सकिने व्यवस्था समेत नियमावलीमा गरिएको छ ।
त्यस्तै, इजाजत दस्तुर ठूलाका लागि तीन करोड र सानाले एक करोड ५० लाख रूपैयाँ तोकिएको छ । यसअघिको ठूलाको लागि दुई करोड रूपैयाँ र सानाको लागि एक करोड रूपैयाँ इजाजत दस्तुर तोकेको थियो
अन्तराष्ट्रिय सीमा क्षेत्रबाट पाँच किलोमिटर दुरीभित्र पनि क्यासिनो खोल्न सकिने व्यवस्था गरिएको छ । यसअघि यस्तो क्षेत्रमा क्यासिनो खोल्न रोक लगाइएको थियो । यस्तो व्यवस्थाले अब भारत र चीनसँग सीमा जोडिएका बस्तीमा क्यासिनो खोल्ने क्रममा वृद्धि हुने अपेक्षा गरिएको छ । केही वर्षयता सीमावर्ती सहरमा खोलिएका क्यासिनोमा भारतीय पर्यटक आउने गरेका छन् ।
तर ती क्यासिनो सीमा क्षेत्रभन्दा ५ किलोमिटर टाढा खोल्नुपर्ने व्यवस्था गरिँदा भारतीय पर्यटकले अप्ठेरो महसुस गरेको गुनासो गर्थे । नयाँ व्यवस्था अनुसार सीमा क्षेत्रमै क्यासिनो खोल्दा भारतीय नागरिकलाई लक्षित गरी क्यासिनो व्यवसाय फस्टाउन सक्ने व्यवसायीहरू बताउँछन् । यस्तो व्यवस्थाले पर्यटक क्षेत्रले लाभ लिनसक्ने अपेक्षा गरिएको छ ।
तर, यसरी क्यासिनो खोल्दा सुरक्षा योजना सहित अन्तर्राष्ट्रिय सीमा सुरक्षाको मूल्याङ्कन गरी प्रचलित कानून बमोजिमको जिल्ला सुरक्षा समितिबाट क्यासिनो सञ्चालनको लागि अनुमति भने लिनुपर्नेछ । सीमा क्षेत्रमा खुल्ने ती क्यासिनो स्थलमा कम्तीमा २० जना तालिम प्राप्त दक्ष सुरक्षाकर्मीको व्यवस्था पनि गर्नुपर्ने नयाँ नियममा उल्लेख छ । सीमा क्षेत्रमा क्यासिनो खोल्दा एउटै होटल, रिसोर्ट परिसरमा एकभन्दा बढी क्यासिनो सञ्चालन गर्न भने पाइने छैन ।