पर्यटकको आकर्षक गन्तव्य बन्दै कैलालीको आमपानी झरना

कैलाली । लम्की बजारदेखि करिब सात किलोमिटर उत्तर चुरे पहाडको फेदीमा छ आमपानी झरना । उक्त झरना पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ ।
मोहन्याल गाउँपालिका–७ मा पर्ने बर्गदा सामुदायिक वनभित्रको यो झरना व्यवस्थित रूपमा निर्माण भई सञ्चालनमा आएपछि पर्यटकको रोजाइमा पर्न थालेको हो ।
आमपानी क्षेत्र यसअघि पनि गर्मी छल्न स्थानीय र वरपरका जिल्लाका बासिन्दाका लागि रमणीयस्थलका रूपमा परिचित थियो । कोरोनाको समयमा यो क्षेत्र अझ बढी चर्चामा आएको थियो । कोरोना महामारीको समयमा आवतजावत सीमित हुँदा पनि यहाँ आन्तरिक पर्यटकको चाप बाक्लो देखिन्थ्यो । बर्गदा सामुदायिक वनका कार्यालय सचिव ध्वजबहादुर शाहीले यो ठाउँ पहिले पनि प्रकृतिप्रेमीका लागि लोकप्रिय थियो, झरना निर्माणपछि भने आन्तरिक पर्यटकको सङ्ख्या झनै बढेको बताए ।
सुदूरपश्चिम प्रदेश सरकारको पर्यटन प्रवर्द्धन कार्यक्रमअन्तर्गत झरनाको पूर्वाधार निर्माणका लागि ४० लाख बजेट विनियोजन गरिएको थियो । राजमार्गदेखि नजिकै शान्त वातावरणमा रहेकाले पनि क्षेत्रको दिगो व्यवस्थापन गरी पर्यापर्यटन विकास गर्ने उद्देश्यले झरना निर्माण गरिएको प्रदेश पर्यटन कार्यक्रम कार्यान्वयन इकाइ प्रमुख डबलबहादुर बोहोराले बताए ।
झरना क्षेत्रमा नुहाउन र पिकनिक गर्न मिल्ने पूर्वाधार विकासका साथै खोलाको व्यवस्थापन गरी झरनामा निरन्तर पानी आपूर्ति हुने व्यवस्था मिलाइएको छ । झरनाको पानी सञ्चित गर्न ट्याङ्की, नुहाउने ठाउँ, फोहोरा, कपडा फेर्ने कोठा, शौचालय र पदमार्ग बनाइएको इकाइ प्रमुख बोहराले जानकारी दिनुभयो । झरनाको हेरचाह, सुरक्षा र व्यवस्थापन सामुदायिक वनले गर्दै आएको छ ।
सामुदायिक वनका सचिव शाहीका अनुसार हाल झरना क्षेत्रमा शनिबार र सार्वजनिक बिदामा ५०० भन्दा बढी आन्तरिक पर्यटक पुग्ने गरेका छन् । अन्य दिनमा दैनिक १०० भन्दा बढी पर्यटक पुग्ने गरेका छन् । कैलाली, बर्दिया, सुर्खेतलगायत छिमेकी भारतसम्मका पर्यटकहरू पनि पुग्ने गरेको शाहीले बताए । रासस