मनास्लु क्षेत्रमा अहिलेसम्मकै धेरै विदेशी पर्यटकको आगमन, पर्यटन व्यवसायिमा उत्साह

टुरिजमफेस
गोरखा । उत्तरी गोरखाको मनास्लु संरक्षण क्षेत्र घुम्न पुग्ने विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ ।
आर्थिक वर्ष २०८१-८२ मा मनास्लु क्षेत्रमा अहिलेसम्मकै धेरै विदेशी पर्यटक घुम्न पुगेका छन् ।
मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय (एमक्याप) का प्रमुख सन्तोष शेरचनका अनुसार गत वर्ष साउनदेखि असार मसान्तसम्म एक वर्षको अवधिमा मनास्लु क्षेत्रमा १२ हजार ५१२ विदेशी पर्यटक घुम्न आएको बताए ।
मनास्लु क्षेत्रमा गत आवमा सार्क राष्ट्रका दुई सय ५३ र सार्क राष्ट्रबाहेक अन्य राष्ट्रका १२ हजार हजार दुई सय ४८ विदेशी पर्यटकले भ्रमण गरेका छन् । सोही अवधिमा ११ नेपाली पर्यटकले पनि शुल्क तिरेर मनास्लु क्षेत्रको भ्रमण गरेका छन् ।
मनास्लु क्षेत्रमा आव २०८०-८१ मा नौ हजार ७८३ विदेशी पर्यटकले भ्रमण गरेका थिए । अघिल्लो आवको तुलनामा गत आवमा झण्डै दुई हजार ७२९ बढी पर्यटक मनास्लु क्षेत्र पुगेका थिए ।
“मनास्लु क्षेत्र जाने पदमार्ग अहिले सहज र सुरक्षित बनेको छ, पदमार्गको प्रचारप्रसार हुँदै गएको छ, त्यहाँ पुग्ने पर्यटकलाई खान र बस्न सुविधासम्पन्न होटल निर्माण भएकाले पनि पर्यटकको सङ्ख्या बढ्न थालेको हो”, एमक्यापका प्रमुख शेरचन उनले भने ।
गत आवमा मनास्लु घुम्न पुग्ने विदेश पर्यटकमध्ये फ्रान्सका सबैभन्दा बढी थिए । फ्रान्सका सात सय ६३ पुरुष र ६ सय ४४ महिलाले मनास्लु क्षेत्रको भ्रमण गरेका थिए ।
त्यसबाहेक धेरैजसो जर्मनी, संयुक्त राज्य अमेरिका, नेदरल्याण्ड्स, इजरायल, बेलायत, अष्ट्रेलिया, स्पेन, रुस, क्यानडालगायत देशका पर्यटक मनास्लु क्षेत्र पुगेका थिए । मनास्लु क्षेत्रमा आव २०७९-८० मा सात हजार ७५०, आव २०७८-७९ मा दुई हजार २२२ विदेशी पर्यटक घुम्न आएका थिए ।