पर्यटकलाई सहजताका लागि मनास्लु पदमार्गमा थपियो मार्किङ पोल र साइनपोष्ट

टुरिजमफेस
गोरखा । उत्तरी गोरखाको मनास्लु संरक्षण क्षेत्रको भ्रमणमा जाने पर्यटकलाई पदमार्गको पहिचान र पदयात्रामा सहजताका लागि ठाउँठाउँमा ‘मार्किङ पोल’ तथा ‘साइनपोष्ट’ थप गरिएको छ ।
मनास्लु सरंक्षण क्षेत्र आयोजना कार्यालय (एमक्याप) ले आर्थिक वर्ष २०८१-८२ मा पदमार्गको विभिन्न ५३ ठाउँमा मार्किङ पोल र साइनपोष्ट थप गरेको आयोजना कार्यालयका प्रमुख सन्तोष शेरचनले जानकारी दिए । नका अनुसार कार्यालयले पदमार्गको ३५ स्थानमा पर्यटकलाई पदमार्गको जानकारी दिन साइनपोष्ट थप गरेको छ भने पदमार्गको १६ ठाउँमा मार्किङ पोल थप गरिएको हो ।
पदमार्गअन्तर्गत नुब्री भ्यालीतर्फ लार्के बजारदेखि भिमथाङसम्म विभिन्न ठाउँमा मार्किङ पोल थपिएको छ । लार्के बजारदेखि भीमथाङसम्म अब कूल १२४ मार्किङ पोल पुगेका छन् । यसअघि १०८ मार्किङ पोल मात्र रहेको थियो ।
त्यस्तै, पदमार्गमा पर्ने चुमभ्यालीतर्फ गणेश हिमालतर्फ जाने पदमार्गसहित १९, नुब्री भ्यालीतर्फ १४ र सिर्दीबासमा दुई स्थानमा साइनपोष्ट थप गरिएको उनले जानकारी दिए ।
साइनपोष्टबाट मनास्लु संरक्षण क्षेत्रमा घुम्न पुग्ने पर्यटकलाई आफूकहाँ पुगेँ, आफू पुगेको ठाउँको उचाइ, त्यसपछिको गन्तव्यमा पुग्न लाग्ने सम्भावित समय र त्यहाँको जङ्गली जनावरका बारेमा पनि थाहा पाउन सजिलो हुन्छ ।
त्यस्तै, पदमार्गमा राखिएको मार्किङ पोलबाट हिउँ परेका बेला पदमार्ग हिउँले पुरिएर हराउने हुँदा पर्यटकलाई पदमार्ग पहिचानका लागि सहज हुने प्रमुख शेरचनले बताए । चालु आव २०८२-८३ मा विभिन्न २५ स्थानमा मार्किङ पोल र ३५ स्थानमा साइनपोष्ट राख्ने योजना रहेको एमक्यापले जनाएको छ ।