मनास्लु पदमार्ग घुम्न जाँदा ‘डस्टबिन’ मा फोहर फालिदिन पर्यटकलाई आग्रह

टुरिजमफेस
गोरखा । उत्तरी गोरखाको मनास्लु पदमार्गमा निस्कने फोहर सङ्कलन र व्यवस्थापनका लागि विभिन्न ४० स्थानमा ‘डस्टबिन’ राखिएको छ ।
स्थानीयवासीको सहभागितामा फोहर व्यवस्थापनका लागि पदमार्गमा ‘डस्टबिन’ राखिएको मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय (एमक्याप) गोरखाका प्रमुख सन्तोष शेरचनले जानकारी दिए ।
पदमार्गलाई सफा, सुन्दर र सुरक्षित राख्न ठाउँठाउँमा ‘डस्टबिन’ राखिएको हो । फोहर व्यवस्थापनबाट वातावरण संरक्षणमा समेत सहयोग पुग्ने उनको भनाइ छ । प्रमुख शेरचनले भने, ‘‘त्यहाँ घुम्न पर्यटकले जथाभावी फोहर फ्याँक्ने गर्दा मनास्लु लार्केपास पदमार्गमा जथाभावी फोहर देखिने गरेको छ । त्यसलाई व्यवस्थित र प्रभावकारी व्यवस्थापनका लागि ठाउँठाउँमा ‘डस्टबिन’ राखिएको छ ।’’
मनास्लु पदमार्गमा पानीको बोतल, बिस्कुट चाउचाउका खोललगायतका फोहर यत्रतत्र देखिने गरेका थिए । ‘‘अब फोहरको उचित व्यवस्थापनमा उल्लेखनीय सुधार आउने अपेक्षा गरिएको छ, प्रमुख शेरचनले भने, ‘‘स्थानीयवासी सबै मिलेर पदमार्गमा पुगेका पर्यटकलाई बाटोमा फोहर फाल्न नदिने र डस्टबिनमा फाल्ने बानीलाई प्रोत्साहन गर्नसके फोहर व्यवस्थापनमा निक्कै सहज हुनेछ ।’’
उनका अनुसार ‘डस्टबिन’ राख्नु अघि आयोजना कार्यालयले स्थानीय सरोकारवाला, आमा समूहलगायतसँग कार्यक्रमको प्रभावकारिता लगायतको विषयमा छलफलसमेत गरेको थियो ।
स्थानीयवासी लक्ष्मी गुरुङले पदमार्गमा राखिएका ‘डस्टबिन’ ले पदयात्रामा आउने पर्यटकलाई पनि राम्रो सन्देश दिने बताए । उनले भने, ‘‘पदमार्ग वरपर फोहरको समस्या बढ्दै गएको थियो । अहिले डस्टबिन राखिएपछि जथाभावी फोहर फाल्नुहुँदैन भन्ने परेको छ ।’’
कार्यालयले स्थानीयवासीलाई फोहर व्यवस्थापन, पुनः प्रयोग र रिसाइकलको विषयमा अभिमुखीकरण कार्यक्रमसमेत सञ्चालन गरिएको छ । मनास्लु पदमार्गमा एक वर्षमा १२ हजार भन्दाबढी विदेशी पर्यटक घुम्न पुग्ने गर्दछन् ।