मनाङमा विदेशी पर्यटकको आगमन बढ्दै, एक वर्षमा ३७ हजार बढी पर्यटक भित्रिए
टुरिजमफेस
मनाङ । हिमाली जिल्ला मनाङमा विदेशी पर्यटक आगमन बढ्दै गएको छ ।
मनाङ भ्रमणमा आउने विदेशी पर्यटकको वार्षिक रूपमा बढ्दै गएको हो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालय मनाङका अनुसार आर्थिक वर्ष २०८१-८२ मा २२ हजार ४७७ पुरुष, १५ हजार २४९ र अन्य छ गरी ३७ हजार ७३२ विदेशी पर्यटकको आगमन भएको छ ।
उक्त इलाकाअन्तर्गत धारापानी पर्यटक चेकपोष्टको तथ्याङ्कअनुसार तीमध्ये दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) राष्ट्रका दुई हजार ५५४ र अन्य राष्ट्रका ३५ हजार १७८ पर्यटकले मनाङ भ्रमण गरेको कार्यालयका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिए । आर्थिक वर्ष २०८१- ८२ मा १३४ देशका पर्यटकले मनाङ भ्रमण गरेको उहाँले जानकारी दिए ।
यस आर्थिक वर्षमा सबैभन्दा बढी इजरायलका चार हजार ३५८ नागरिकले मनाङ भ्रमण गरेका भुजेलले बताए । फ्रान्सका तीन हजार ६१६ र जर्मनीका दुई हजार ८४२ नागरिकले भ्रमण गरेका छन् । गत वर्षको तुलनामा यस आर्थिक वर्षमा १० राष्ट्रका पर्यटकको आगमन वृद्धि भएको उनले बताए ।
आर्थिक वर्ष २०८०-८१ मा १२४ राष्ट्रका २२ हजार ३७१ पर्यटकले मनाङ भ्रमण गरेका थिए । यस वर्ष फ्रान्सका नागरिक सबैभन्दा बढी आएको तथ्याङ्कमा उल्लेख छ । यस वर्षमा इजरायली नागरिकको सङ्ख्या अधिक रहेको उनको भनाइ छ । यहाँका स्थानीय कृषि र पर्यटन व्यवसायमा निर्भर छन् । पर्यटकको आगमनले यहाँको आर्थिक स्तर वृद्धि हुनाका साथै राष्ट्रकै अर्थतन्त्रमा सुधार गरिरहेको छ ।”
विश्वको १०औँ स्थानमा पर्ने जोखिमयुक्त पदमार्गका रूपमा रहेको अन्नपूर्ण पदमार्ग मनाङमा नै पर्ने भएकाले पर्यटकको आकर्षण बढ्दै गएको छ । मनाङ प्राकृतिक सम्पदाले भरिपूर्ण भएकाले पनि पर्यटकको रोजाइमा पर्ने गरेको उनको भनाइ छ ।
फोटो : रासस
