यस्तो बन्यो धौलागिरि हिमालको आधार शिविर जाने पदमार्ग, अझै आधा दर्जन बढी स्थानमा झोलुङ्गे पुलको अभाव

टुरिजमफेस
म्याग्दी । धौलागिरि गाउँपालिका–४ मुदीस्थित संसारको सातौँ (८,१६७ मिटर) अग्लो धौलागिरि हिमालको आधार शिविर जाने पदमार्ग निर्माण गरिएको छ ।
गत आर्थिक वर्ष २०८१-०८२ मा सङ्घीय सरकारबाट प्राप्त रु ५४ लाख बजेटबाट गाउँपालिकाले मुदीस्थित इटाली आधार शिविरदेखि स्वीस क्याम्प हुँदै जापनिज क्याम्प क्षेत्रमा पदमार्ग निर्माण गरेको हो ।
विनियोजित बजेट रु ४९ लाख तथा समुदायको रु पाँच लाख बराबरको श्रमदानबाट करिब साढे छ किलोमिटर पदमार्ग निर्माण गरिएको धौलागिरि हिमाल आरोहण पदमार्ग निर्माण उपभोक्ता समितिका सचिव कुलबहादुर घर्तीले जानकारी दिए । उनका अनुसार, सबैभन्दा जोखिमपूर्ण क्षेत्रमा पदमार्ग निर्माण गरिएको हो । पदमार्गसँगै दुई वटा काठे पुल र दुई वटा चौतारा समेत निर्माण गरिएको छ ।
पदमार्गमा भ्रमणमा आउने पर्यटकको सहजताका लागि चार ठाउँमा सूचना बोर्ड र पाँच ठाउँमा सङ्केत बोर्ड राखिएको सचिव घर्तीले जानकारी दिए । आरोहण, धौलागिरिको फन्को मार्न र आधार शिविरसम्म पदयात्राका लागि आउने पर्यटकको सुविधाका लागि पदमार्ग, पुललगायतका पूर्वाधार निर्माण गरिएका हुन् । करिब एक किलोमिटर ढुङ्गाको सिँढी निर्माण गरिएको गाउँपालिकाका सवइञ्जिनियर जनक धानुकले जानकारी दिनुए।
अप्ठेरो र साँघुरो घोरेटो बाटोलाई फराकिलो बनाइएको छ, स्वीसदेखि जापनिज क्याम्प क्षेत्रमा ग्लेसियरको कारण कठिन मानिएको ठाउँमा पदमार्ग बनाइएको छ । पुरानो जीर्ण पदमार्गलाई सुधार गरेपछि पर्यटक आवतजावत गर्न सजिलो भएको उनले बताए । धौलागिरि पदमार्ग अन्तर्गत दोभानमा बाढीले भत्किएको पदमार्ग समेत पुननिर्माण गरिएको छ भने चौरवनको फेदीमा पदमार्ग निर्माण गरिएको छ ।
यस पदमार्गअन्तर्गत इटाली आधार शिविरदेखि छेउवन जोड्ने म्याग्दी खोला, तलेत्रेखोला, कैँचीभिरे खोला लगायत आधा दर्जन बढी स्थानमा झोलुङ्गे पुलको अभाव छ ।
यस पदमार्गअन्तर्गत भिर र जङ्गलको जोखिमपूर्ण बाटोलाई फराकिलो बनाएर सुरक्षित र स्तरीय बनाउने कामलाई प्राथमिकतामा राखिएको धौलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताए । उनले गउँपालिकाले पर्यटन पूर्वाधार निर्माण र प्रचारप्रसारलाई जोड दिएको बताउँदै यस वर्ष एक वडा एक पर्यटकीय क्षेत्रको विकासमा गाउँपालिकाले अभियान सञ्चालन गर्ने जानकारी दिए ।
फोटो : रासस