कालो सुन (मरिच) खेतीमा लाग्यो पोखरा महानगर

टुरिजमफेस
गण्डकी । देशभर नै बाँदरलगायतका जङ्गली जनावरले खेतीबाली नष्ट गर्ने समस्या बढ्दो छ । बाँदरको समस्या समाधान र विकल्प खोजी भइरहँदा पोखरा महानगरले भने वडा नं २८ मा बाँदरले दुःख नदिने तर उत्पादनले उचित मूल्य पाउने मरिच खेती प्रवर्द्धन गर्ने भएको छ ।
महानगरपालिकाले यसै वर्ष ४०० मरिचका बिरुवा वितरण गरेको महानगरका कृषि विकास शाखा प्रमुख मनहर कडरियाले जानकारी दिए । बाँदरको प्रकोप नहुने र असिना आदि समस्या पनि नहुने भएकाले वडा कार्यालयसँग समन्वय गरी मरिचका बिरुवा वितरण गरेको उनले बताए ।
वडामा स्याङखुदी टारीका अगुवा कृषक सूर्यमोहन बास्तोलाले मरिच खेतीबाट राम्रो आम्दानी गरेका छन् । सोही खेतीलाई दृष्टिगत गरी वडामा मरिच खेती प्रवर्द्धन र विस्तार गर्न लागिएको हो । बास्तोलाले घर वरपरका साल, आँप, चिलाउने, कटुस, कल्की, फलेदो, कटहरलगायत विभिन्न प्रजातिका एक सय बढी हरिया रूखका फेदमा लगाएको मरिचले उत्पादन दिन थालेपछि महानगरपालिका पनि मरिच खेतीको प्रवर्द्धनमा जुटेको हो ।
बजारमा मरिच कालो सुनका रुपमा समेत परिचित छ । प्रतिकिलो रु दुई हजार पर्ने यो मसलाजन्य बाली बास्तोलाले २०४६ सालदेखि लगाउन थालेका हुन् । आफूले २०४६ सालमा लेखनाथको भण्डारढिकस्थित पण्डित सोमनाथ आत्रेयसँग १०÷१० रुपैयाँका दरले दुईवटा मरिचका बिरुवा किनेर ल्याएको अनुभव सुनाए ।
बास्तोलाले हाल वार्षिक ६० देखि ७० किलोग्राम मरिच उत्पादनसँगै नर्सरी तयार गरी बिरुवा बिक्री गर्दै आएका छन् । उनका अनुसार प्रत्येक वर्ष असारमा फल्न सुरु भई चैतमा मरिचका दाना टिप्न सकिन्छ । उनले एउटा बिरुवा १५० रुपैयाँदेखि २०० रुपैयाँसम्ममा बिक्री गर्ने गरेको बताए । उनको फार्मबाट पुरनचौर क्षेत्रमा ४०० मरिचका बिरुवा रोप्न लगेको र माछापुच्छ्रे गाउँपालिकामा ४०० बिरुवा लैजाने तयारी रहेको जानकारी दिए ।
बाँदरले पनि नखाने र कुनै किराको प्रकोप मरिचखेतीमा नहुने भएकाले मनग्गे आम्दानी लिन सकिने उनको भनाइ छ ।