कोशीमा पर्यटक घट्दा होटल व्यवसाय प्रभावित, अकुपेन्सी ३२ प्रतिशतमा सीमित
काठमाडौं । पूर्वी नेपालमा पर्यटकको आवागमन घटेसँगै होटल व्यवसायमा समेत त्यसको प्रत्यक्ष असर देखिएको छ। नेपाल राष्ट्र बैंकको कोशी प्रदेशको आर्थिक गतिविधिसम्बन्धी अध्ययनअनुसार आर्थिक वर्ष २०८२/८३ मा प्रदेशका होटलको औसत कोठा भराइ दर (अकुपेन्सी) ३२ प्रतिशतमा झरेको छ।
अघिल्लो आर्थिक वर्षमा कोशी प्रदेशका होटलको औसत अकुपेन्सी ३९.२ प्रतिशत रहेको थियो। एक वर्षमै करिब सात प्रतिशत बिन्दुले घट्नुले प्रदेशको पर्यटन क्षेत्रमा देखिएको सुस्ततालाई संकेत गरेको छ।
अध्ययनअनुसार होटलमा बस्ने विदेशी पर्यटकको संख्या पनि उल्लेख्य रूपमा घटेको छ। गत आर्थिक वर्ष कोशी प्रदेशमा विदेशी पर्यटक आगमन २१.८ प्रतिशतले घटेर ४७ हजार ४५७ मा सीमित भएको थियो। अघिल्लो वर्ष विदेशी पर्यटक आगमन २८.६ प्रतिशतले बढेको थियो।
चिनियाँ पर्यटकको आगमनमा केही सुधार देखिए पनि भारतीय पर्यटकको संख्या उल्लेख्य रूपमा घटेको प्रतिवेदनमा उल्लेख छ। तेस्रो मुलुकबाट आउने पर्यटकको संख्या पनि घटेकाले होटलको व्यापार प्रभावित भएको देखिन्छ।
हवाई आवागमनमा पनि गिरावट
पर्यटक आगमनसँगै कोशी प्रदेशको हवाई यातायात पनि कमजोर बनेको छ। गत आर्थिक वर्ष प्रदेशमा हवाई यात्रुको संख्या ४.९ प्रतिशतले घटेको राष्ट्र बैंकको अध्ययनले देखाएको छ।
गत आर्थिक वर्ष ५० हजार ९२६ उडानमार्फत १२ लाख १७ हजार ३८१ यात्रुले हवाई सेवा प्रयोग गरेका थिए। अघिल्लो आर्थिक वर्ष ५३ हजार ५३० उडानबाट १२ लाख ४६ हजार ८०५ यात्रुले हवाई यात्रा गरेका थिए।
होटलमा पर्यटकको बसाइ घट्नु र हवाई यात्रुमा आएको कमीले कोशीको पर्यटन बजारमा माग कमजोर बनेको संकेत गरेको छ।
पर्यटन विस्तारको सम्भावना भने ठूलो
पर्यटक आगमन घटे पनि कोशी प्रदेशमा पर्यटन विस्तारका आधार कमजोर नभएको प्रतिवेदनले देखाएको छ। हिमालदेखि तराईसम्म फैलिएको भौगोलिक विविधता, धार्मिक तथा सांस्कृतिक सम्पदा, प्राकृतिक क्षेत्र र नदी प्रणालीका कारण प्रदेशमा पर्यटनका विविध सम्भावना छन्।
सगरमाथा, कञ्चनजङ्घा, मकालु–बरुण, श्रीअन्तु, भेडेटार तथा तीनजुरे–मिल्के–जलजले क्षेत्र प्रकृति अवलोकन, पदयात्रा, साहसिक गतिविधि र पर्यावरणीय पर्यटनका लागि आकर्षक गन्तव्य हुन्।
त्यस्तै पाथीभरा देवी मन्दिर, हलेसी महादेव, बराहक्षेत्र, रामधुनीलगायत धार्मिकस्थलले धार्मिक पर्यटनको आधार तयार गरेका छन्। किराँत संस्कृति र मौलिक परम्पराले सांस्कृतिक पर्यटनका लागि समेत थप अवसर प्रदान गर्छन्।
स्वास्थ्य र व्यवसायिक पर्यटनमा अवसर
राष्ट्र बैंकको अध्ययनले कोशीमा स्वास्थ्य पर्यटनको सम्भावनालाई समेत औँल्याएको छ। सुविधासम्पन्न होटल तथा पूर्वाधार थपिँदै गएसँगै डेस्टिनेसन वेडिङ, व्यावसायिक बैठक, सम्मेलन, सेमिनार र मनोरञ्जनात्मक पर्यटन विस्तार गर्न सकिने सम्भावना देखिएको छ।
प्रदेशको अर्थतन्त्रमा सेवा क्षेत्रको योगदान ४९.८५ प्रतिशत रहेको छ। प्रदेशको समग्र सेवा क्षेत्रमा कोशीको हिस्सा १२.७५ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ।
तर जलवायु परिवर्तन, बाढीपहिरो तथा अन्य प्राकृतिक विपत्तिले पर्यटन पूर्वाधारमा पार्न सक्ने असरलाई न्यूनीकरण गर्नु चुनौतीका रूपमा देखिएको छ।
पर्यटकको आगमन र होटल अकुपेन्सी बढाउन गन्तव्य प्रवर्द्धनसँगै यातायात सुविधा, हवाई पहुँच, पर्यटन पूर्वाधार, सेवा गुणस्तर र पर्यटकको बसाइ अवधि बढाउने रणनीतिमा ध्यान दिनुपर्ने देखिन्छ। कोशीको पर्यटनमा रहेका विविध सम्भावनालाई प्रभावकारी रूपमा बजारसँग जोड्न सके अहिलेको सुस्ततालाई अवसरमा बदल्न सकिने आधार भने पर्याप्त छन्।
