पढाइसँगै फूलखेती, तिहारमा युवाले कमाए चार लाखभन्दा बढी
नेपालगन्ज । कृषि विषय पढ्दै गरेका तीन युवाले पढाइसँगै सुरु गरेको व्यावसायिक फूलखेतीबाट तिहारमा उत्साहजनक आम्दानी गरेका छन्। नेपालगन्ज–१९ को फुटाहा गाउँमा १० कट्ठा जग्गामा गरिएको सयपत्री फूलखेतीबाट उनीहरूले यस वर्ष ११ क्विन्टल फूल उत्पादन गरी चार लाख रुपैयाँभन्दा बढीको कारोबार गरेका हुन्।
मध्यपश्चिम विश्वविद्यालयअन्तर्गत कृषि विषयमा स्नातक अध्ययनरत नेपालगन्ज–१९ का वेदराज आचार्य, चेतन केसी र कोहलपुर–११ का असिम सिग्देलले सामूहिक रूपमा फूलखेती सुरु गरेका थिए। तिहारलाई लक्षित गरेर गरिएको उत्पादन भाइटीकाअघि नै बिक्री भइसकेको उनीहरूले बताएका छन्।
फूलको माग उत्पादनभन्दा बढी भएपछि उनीहरूले दाङबाट थप दुई क्विन्टल फूल ल्याएर ग्राहकलाई उपलब्ध गराएका थिए। स्थानीय उत्पादन सकिएपछि अग्रिम बुकिङ गरेका ग्राहकको माग पूरा गर्न बाहिरबाट फूल ल्याउनुपरेको व्यवसायी असिम सिग्देलले बताए।
उनका अनुसार यस वर्षको अनुभवले व्यावसायिक फूलखेतीमा सम्भावना देखाएको छ। आगामी वर्ष खेतीको क्षेत्रफल र उत्पादन दुवै बढाएर अहिलेको भन्दा दोब्बर उत्पादन गर्ने उनीहरूको योजना छ।
स्थानीय उत्पादनले बजार पायो
व्यवसायी चेतन केसीका अनुसार यसपटक बाँकेमा उत्पादित फूलले स्थानीय बजारको माग धान्न महत्वपूर्ण भूमिका खेलेको छ। नेपालगन्जमा मात्र सीमित नभई बुटवल, दाङ, काठमाडौं र सुर्खेतलगायत स्थानबाट समेत फूलको माग आएको उनले बताए।
फूल उत्पादन गर्ने युवाहरूले स्थानीय बजारसँगै विभिन्न जिल्लामा फूल पठाएका थिए। तिहारको समयमा माग उच्च रहेकाले उत्पादित फूल बिक्री गर्न उनीहरूलाई बजारको समस्या भएन।
वेदराज आचार्यका अनुसार तुलनात्मक रूपमा कम क्षेत्रफल र लगानीबाट पनि फूलखेतीबाट राम्रो प्रतिफल लिन सकिन्छ। आफूहरूले करिब ४०० किलो फूल बिक्री गरेको र अझै माग आइरहेको उनले बताए।
भारतीय फूलको निर्भरता घटाउने प्रयास
बाँकेमा स्थानीयस्तरमा फूलखेती विस्तार भएसँगै तिहारका लागि भारतबाट आउने फूलको निर्भरता घटाउने प्रयासले पनि गति लिएको छ। यस वर्ष स्थानीय उत्पादनले बजारको ठूलो हिस्सा धान्न सफल भएको व्यवसायीहरूको भनाइ छ।
फ्लोरी कल्चर एसोसिएसन नेपाल बाँकेका अनुसार जिल्लामा यस वर्ष करिब १३ बिघा क्षेत्रफलमा व्यावसायिक फूलखेती गरिएको छ। नरैनापुर, खजुरा, नेपालगन्ज र कोहलपुर क्षेत्रमा किसान तथा व्यवसायीले फूल उत्पादन गरेका छन्।
जिल्लामा सयपत्री, कलकत्ते र आगा ३५५ लगायत जातका फूल लगाइएको थियो। स्थानीय उत्पादन बढेपछि विगतमा तिहारका बेला ठूलो मात्रामा भारतबाट आयात हुने फूललाई केही हदसम्म प्रतिस्थापन गर्न सफल भएको एसोसिएसनकी केन्द्रीय सदस्य तथा पुष्प व्यवसायी बिन्दु घर्तीमगरले बताइन्।
चोक–चोकमा स्थानीय फूलको बिक्री
फूल उत्पादक किसान तथा व्यवसायीले नेपालगन्जको त्रिभुवनचोक, धम्बोझीचोक र कोहलपुरका विभिन्न स्थानमा बिक्री केन्द्र स्थापना गरेर उपभोक्तालाई प्रत्यक्ष फूल बिक्री गरेका थिए।
स्थानीय उत्पादनले बजार पाउनु, युवाको आकर्षण बढ्नु र तिहारमा माग उच्च रहनुले बाँकेमा फूलखेती व्यावसायिक सम्भावनाको क्षेत्र बन्दै गएको देखिएको छ।
कृषि विषय अध्ययन गरिरहेका युवाले पढाइसँगै फूलखेतीलाई व्यवसायका रूपमा अघि बढाएर आम्दानी गर्न सफल भएपछि कृषि शिक्षालाई व्यवहारिक उद्यमसँग जोड्ने सम्भावना पनि देखिएको छ। आगामी वर्ष उत्पादन दोब्बर बनाउने उनीहरूको योजनाले स्थानीय फूलको बजार थप विस्तार हुने अपेक्षा गरिएको छ।
