छठको तयारीमा व्यस्त मिथिला, घाटदेखि बजारसम्म बढ्यो चहलपहल
जनकपुरधाम । दीपावली सकिएलगत्तै मिथिला क्षेत्र छठ पर्वको तयारीमा जुटेको छ। घरआँगनको सरसफाइ, पूजाका सामग्रीको जोहो, प्रसाद निर्माण र नदी–पोखरीका घाट व्यवस्थापनले गाउँदेखि सहरसम्मको वातावरण छठमय बनेको छ।
मधेश प्रदेशमा विशेष श्रद्धाका साथ मनाइने छठ पर्व ‘नहाय–खाय’ विधिबाट सुरु भएको छ। चार दिनसम्म मनाइने यस पर्वमा पहिलो दिन व्रतालुले स्नान गरी शुद्ध तथा सात्त्विक भोजन ग्रहण गर्छन्। दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य र अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पर्वको विधि पूरा हुन्छ।
छठ नजिकिएसँगै स्थानीय युवादेखि विभिन्न सामाजिक समूहसम्म घाट व्यवस्थापनमा सक्रिय भएका छन्। नदी, पोखरी तथा अन्य जलाशयका किनार सफा गर्ने, घाट सम्याउने, बत्ती जडान गर्ने र सजावटका कामलाई तीव्रता दिइएको छ। कतिपय स्थानमा पूजा गर्न आउने भक्तजनलाई सहज होस् भनेर घाटसम्म पुग्ने बाटोसमेत व्यवस्थित गर्न थालिएको छ।
घरघरमा पनि पर्वको तयारी उत्तिकै उत्साहका साथ भइरहेको छ। आँगन तथा घर सफा गर्ने, लिपपोत गर्ने र छठका लागि आवश्यक सामग्री जुटाउने काममा परिवारका सदस्य व्यस्त छन्। मिथिलाका बस्तीमा छठसम्बन्धी भक्तिगीत बज्न थालेपछि पर्वको धार्मिक र सांस्कृतिक माहोल झनै गहिरिएको छ।
छठले चलायमान बनायो स्थानीय बजार
छठको तयारीसँगै स्थानीय बजारमा पनि कारोबार बढेको छ। पूजा सामग्रीका साथै केराको घरी, उखु, अदुवा, बेसार, ज्यामिरलगायत कृषि उपजको माग बढेको छ। किसानले समेत छठलाई लक्षित गर्दै यस्ता सामग्री बजारमा ल्याउन थालेका छन्।
बाँसबाट बनाइने ढकी, डलिया, कोनियाँ, नाङ्लो, चाल्नो र पङ्खालगायत सामग्रीको बिक्री पनि बढेको व्यवसायीहरू बताउँछन्। माटाका दियो, छ्याँची, टौला, अङ्खरा र गाग्रीजस्ता परम्परागत भाँडाको कारोबारले स्थानीय कुमाल तथा बाँसका सामग्री बनाउने समुदायलाई पनि आर्थिक गतिविधि बढाउने अवसर दिएको छ।
जलेश्वर उद्योग वाणिज्य सङ्घका अध्यक्ष शिवचन्द्र चौधरीका अनुसार छठका लागि आवश्यक कृषि उपजको कारोबार पर्वको मुख्य दिन नजिकिँदै जाँदा अझ बढ्ने अपेक्षा गरिएको छ।
घरघरमा बन्दैछन् परम्परागत परिकार
छठको तयारीमा प्रसाद निर्माणलाई विशेष महत्त्व दिइन्छ। घरघरमा ठकुवा, भुसुवा लगायतका परम्परागत परिकार बनाउन गृहिणीहरू व्यस्त छन्। प्रसाद तयार गर्न चामल तथा गहुँको पिठो घरमै ढिकी र जाँतोमा कुट्ने–पिँध्ने परम्परा अझै धेरै परिवारमा कायम छ।
छठमा शुद्धता र पवित्रतालाई विशेष महत्त्व दिइने भएकाले प्रसाद बनाउनेदेखि पूजा सामग्रीको व्यवस्थापनसम्म सावधानी अपनाउने गरिन्छ। पर्वसँग जोडिएका यस्ता परम्पराले मिथिलाको मौलिक जीवनशैली र सांस्कृतिक पहिचानलाई निरन्तरता दिइरहेका छन्।
भङ्गाहा–४ रामनगरकी शान्तिदेवी साहका अनुसार छठमा पूजाका सामग्रीको तयारी जति महत्त्वपूर्ण छ, मन र व्यवहारको शुद्धतालाई पनि त्यत्तिकै प्राथमिकता दिइन्छ। उनको बुझाइमा छठको मूल आधार नै श्रद्धा, निष्ठा र पवित्रता हो।
धार्मिक पर्वसँगै सामाजिक एकताको अवसर
छठलाई सूर्यको आराधना गर्ने धार्मिक पर्वका रूपमा मात्र नभई सामाजिक एकताको पर्वका रूपमा समेत लिइन्छ। घाटमा विभिन्न समुदाय, वर्ग र उमेर समूहका मानिस एकै ठाउँमा भेला भएर पूजा गर्ने भएकाले यसले सामाजिक सद्भाव बढाउन भूमिका खेल्ने गरेको छ।
पर्वका क्रममा पुराना मनमुटाव बिर्सेर सामूहिक रूपमा सहभागी हुने संस्कारले छठको सामाजिक महत्त्व अझ बढाएको छ। जल, सूर्य र प्रकृतिप्रति सम्मान व्यक्त गर्ने यस पर्वले मिथिलाको सांस्कृतिक परम्परा नयाँ पुस्तासम्म पुर्याउने माध्यमको कामसमेत गर्दै आएको छ।
चार दिनसम्म चल्ने छठ पर्वको तयारीसँगै मिथिलाका बस्तीमा देखिएको चहलपहलले स्थानीयको धार्मिक आस्था, सांस्कृतिक निरन्तरता र सामूहिक सहभागिताको जीवन्त तस्वीर प्रस्तुत गरेको छ।
