बाँसको चोयामा सीप, नाङ्लो र ढकियाबाट परिवारको गुजारा
सुनसरी । आधुनिक सामग्रीको प्रयोग बढ्दै गए पनि सुनसरीका केही परिवारले भने पुस्तौँदेखि चलिआएको बाँसको चोयाको हस्तकलालाई आम्दानीको माध्यम बनाइरहेका छन्। चाडपर्वको मौसममा यस्ता सामग्रीको माग बढ्दा उनीहरूको परम्परागत सीपले जीविकोपार्जनमा थप सहयोग पुर्याउने गरेको छ।
इनरुवा उपमहानगरपालिका–४ का मनभरण मरीकका लागि बाँसको चोया केवल कच्चा पदार्थ होइन, परिवार धान्ने आधार पनि हो। करिब तीन दशकदेखि उनी बाँसबाट कोनिया, ढकिया, नाङ्लो, पङ्खालगायत सामग्री बनाएर बिक्री गर्दै आएका छन्।
मरीकले यो सीप आफ्ना अभिभावकबाट सिकेका हुन्। अहिले पनि परिवारका सदस्य मिलेर बाँस खरिद गर्ने, त्यसबाट चोया निकाल्ने र विभिन्न सामग्री तयार पार्ने काम गर्छन्।
उनका अनुसार गाउँबाट प्रतिघान करिब २५० रुपैयाँमा बाँस खरिद गरिन्छ। एउटा सामान्य सामग्री तयार गर्न करिब दुई घण्टा लाग्छ। तयार भएका सामग्रीको आकार र प्रकारअनुसार मूल्य ५० देखि ५०० रुपैयाँसम्म पर्छ।
उत्पादित सामग्री उनी इनरुवाका सोमबारे र बिहीबारे हटियामा लगेर बिक्री गर्छन्। कतिपय ग्राहक भने घरमै पुगेर सामग्री खरिद गर्ने गरेका छन्।
चाडपर्वसँगै विवाहको मौसममा पनि बाँसबाट बनेका सामग्रीको माग बढ्ने गरेको मरीक बताउँछन्। विशेषगरी मधेसी तथा चौधरी समुदायमा विवाहका बेला कोनिया र ढकियालगायत सामग्री प्रयोग हुने भएकाले त्यतिबेला बिक्री बढ्ने गरेको उनको भनाइ छ।
तिहारदेखि छठसम्मको समयमा पूजाआजाका सामग्रीका रूपमा बाँसका उत्पादनको माग बढ्ने भएकाले यो व्यवसायमा संलग्न परिवारका लागि चाडपर्वको मौसम आम्दानी बढाउने अवसरसमेत बन्ने गरेको छ।
नाङ्लो बुनेर वार्षिक लाखौँको कारोबार
इटहरी उपमहानगरपालिका–३ सुनौलो बस्तीका बसन्त राईले पनि पुर्ख्यौली सीपलाई व्यवसायमा रूपान्तरण गरेका छन्। करिब दुई दशकदेखि बाँसको चोयाबाट नाङ्लो बुन्दै आएका राईको मुख्य आम्दानीको स्रोत यही काम बनेको छ।
राईका अनुसार मेहनत र समय दिन सके नाङ्लो उत्पादनबाट राम्रो आम्दानी गर्न सकिन्छ। उनले वार्षिक करिब सातदेखि आठ लाख रुपैयाँ बराबरको कारोबार गर्दै आएको बताएका छन्।
नाङ्लो बनाउन आवश्यक बाँस उनले तालतलैया र खोर्सानेघाट क्षेत्रबाट ल्याउने गरेका छन्। एउटा बाँसको मूल्य २०० देखि ३०० रुपैयाँसम्म पर्ने र त्यसबाट १० देखि १२ वटासम्म नाङ्लो बनाउन सकिने उनको भनाइ छ।
उत्पादन क्षमता बढाउँदा एक सातामा सयभन्दा बढी नाङ्लो तयार गर्न सकिने राई बताउँछन्। तयार भएका नाङ्लो स्थानीय बजारमा मात्र सीमित छैनन्। इटहरी, धरान, भोजपुर, विराटनगर र पथरीलगायतका बजारमा समेत पुग्ने गरेका छन्।
नाङ्लोको आकार र गुणस्तरअनुसार प्रतिगोटा १३० देखि २५० रुपैयाँसम्म मूल्य पर्ने गरेको छ। व्यापारीहरू घरमै आएर नाङ्लो खरिद गरी लैजाने भएकाले बजार खोज्न धेरै समस्या नरहेको राई बताउँछन्।
उनका अनुसार अहिले भोजपुरबाट नाङ्लो ल्याएर बिक्री गर्ने अवस्थाबाट स्थानीयस्तरमै उत्पादन गरी भोजपुरकै व्यापारीलाई बिक्री गर्ने अवस्था आएको छ।
चाडपर्वमा बढ्छ माग
दसैँ, तिहार र छठजस्ता चाडपर्व तथा पूजाआजामा नाङ्लो र अन्य बाँसजन्य सामग्रीको प्रयोग बढ्ने भएकाले भदौदेखि कात्तिकसम्म यसको कारोबार तुलनात्मक रूपमा बढी हुने गरेको छ।
सुनौलो बस्तीमा राईसहित १५ भन्दा बढी परिवारले व्यावसायिक रूपमा बाँसको चोयाबाट नाङ्लो बुन्दै आएका छन्। यसले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्नुका साथै परिवारका सदस्यलाई घरमै बसेर आम्दानी गर्ने अवसर दिएको छ।
राईका लागि यो व्यवसाय आम्दानीको माध्यम मात्र होइन, पुर्खाबाट प्राप्त सीप जोगाउने माध्यम पनि हो। यही कामबाट घरखर्च, छोराछोरीको पढाइ र परिवारका अन्य आवश्यकता पूरा गर्दै आएको उनी बताउँछन्।
बजार छ, मूल्यमा चुनौती
बाँसबाट बनेका सामग्रीको माग रहे पनि उत्पादनको मूल्य भने अपेक्षाअनुसार बढ्न नसकेको व्यवसायमा संलग्नहरूको गुनासो छ। ग्राहकको मागअनुसार विभिन्न आकार र प्रकारका सामग्री बनाउन सकिने भए पनि कच्चा पदार्थ, श्रम र समयको लागतअनुसार उचित मूल्य पाउन कठिन हुने गरेको उनीहरूको भनाइ छ।
तर स्थानीय स्रोतमा आधारित यो हस्तकलाले ग्रामीण परिवारको आम्दानीसँगै परम्परागत सीप र स्थानीय संस्कृति जोगाउन महत्वपूर्ण भूमिका खेलिरहेको छ। बजार विस्तार, उचित मूल्य र आधुनिक डिजाइनतर्फ ध्यान दिन सके बाँसको चोयाबाट उत्पादित सामग्रीलाई घरेलु उपयोगमा मात्र सीमित नराखी व्यावसायिक हस्तकलाका रूपमा विकास गर्न सकिने सम्भावना देखिन्छ।
