सम्भव छ फागुन २१ मा निर्वाचन ?

टुरिजमफेस
काठमाडौं । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरी आउँदो फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन गर्ने घोषणा गरेपछि प्रश्न उठेको छ के घोषित मितिमा निर्वाचन हुन सक्ला ?
सरसर्ती रूपमा अहिलेको माहौल हेर्ने हो भने फागुन २१ म निर्वाचन गर्न सहज छैन । किनकि यस अवधिमा कार्कीलाई असफल पार्न अनेक प्रयास हुनेछन् । नेकपा एमाले र माओवादी केन्द्रले प्रतिनिधिसभा विघटनको विरोध गरेका छन् । त्यसैले यसबीचमा उनीहरू पक्कै पनि यसका विरुद्ध अदालतमा जान्छन् नै । त्यसपछि अदालतले केही समय लिने नै छ ।
प्रतिनिधिसभा विघटन संवैधानिक हो वा होइन भन्नेमा विवाद हुन्छ नै । किनकि अहिले जसरी जुन शैलीमा संसद् विघटन गरियो, त्यो संविधान अनुसार मिल्दैन । परिवर्तनकारीको चाहना हेर्ने हो भने प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपतिले जुन कदम लिए अहिलेको हकमा उत्तम बाटो यही हो । प्रतिनिधिसभा विघटनबिना परिवर्तनकारीको चाहना पूरा हुँदैन । आन्दोलनको दमन गर्ने तथा भ्रष्टाचारको मुद्दामा छानविन गर्न बाधक हुन्छ ।
आन्दोलनको बेला ठूलो मात्रा धनजनको क्षति भएकाले ६ महिनामा निर्वाचनका लागि स्रोत जुटाउन कठिन छ । स्रोत जुटिहाल्यो भने पनि निर्वाचनको मुडमा राज्य संयन्त्र रहेको देखिँदैन ।
अर्कोतर्फ अहिलेको द्वन्द्व व्यवस्थापनमा नेपाली सेनाले जसरी अग्रसरता लियो त्यसलाई बचाइराख्ने हो भने तोकिएको मितिमा निर्वाचन सम्भव छैन पनि भन्न सकिँदैन । त्यसैले आउँदो फागुन २१ गते निर्वाचन सम्पन्न गर्नका लागि कार्की नेतृत्वको सरकार भन्दा बढी जिम्मेवारी राजनीतिक दल, सुरक्षा निकाय र कर्मचारीतन्त्रमा बढी निर्भर छ ।