बर्खायामसँगै चितवनको जिप सफारी रोकिँदै, पर्यटकका लागि मध्यवर्ती क्षेत्र विकल्प
Tourism Face Banner News, NEWS 0
चितवन । वर्षायामको आगमनसँगै नेपालको प्रमुख वन्यजन्तु पर्यटन गन्तव्य चितवन राष्ट्रिय निकुञ्जभित्र सञ्चालन हुँदै आएको जिप सफारी सेवा असार १७ गतेदेखि अस्थायी रूपमा बन्द हुने भएको छ। निकुञ्ज प्रशासनले वन्यजन्तुको प्रजनन अवधि, पर्यावरण संरक्षण तथा पर्यटक सुरक्षालाई ध्यानमा राख्दै असोजको पहिलो सातासम्म सफारी स्थगित गर्ने निर्णय गरेको हो।
निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार बर्खामा जंगलभित्रका कच्ची सडक हिलाम्य हुने, साना खोल्सा–खोल्सीमा बाढी आउने र रुख ढलेर मार्ग अवरुद्ध हुने सम्भावना उच्च रहने भएकाले नियमित जिप सफारी सञ्चालन सुरक्षित हुँदैन। यही समय अधिकांश वन्यजन्तु र चराचुरुङ्गीको प्रजनन मौसमसमेत भएकाले उनीहरूको प्राकृतिक गतिविधिमा न्यूनतम हस्तक्षेप होस् भन्ने उद्देश्यले सफारी बन्द गरिन्छ।
यद्यपि, निकुञ्जभित्रको सफारी बन्द भए पनि पर्यटकका लागि भ्रमणका अवसर भने पूर्ण रूपमा बन्द हुने छैनन्। चितवनको मध्यवर्ती क्षेत्र र सामुदायिक वनमा सञ्चालन हुने जिप सफारी, प्रकृति अवलोकन तथा ग्रामीण पर्यटन गतिविधि यथावत् रहनेछन्। यस अवधिमा धेरै आन्तरिक तथा विदेशी पर्यटकले यी वैकल्पिक गन्तव्य रोज्ने गरेका छन्।
पर्यटन व्यवसायीहरूका अनुसार वर्षायाममा जंगलको हरियाली, नदी–नाला र जैविक विविधताको छुट्टै आकर्षण हुने भएकाले मध्यवर्ती क्षेत्रको भ्रमणले पनि फरक अनुभव प्रदान गर्छ। स्थानीय समुदायले सञ्चालन गर्ने पर्यटन गतिविधिबाट यस समयमा समेत स्थानीय अर्थतन्त्र चलायमान रहने विश्वास गरिएको छ।
चितवन राष्ट्रिय निकुञ्जले हरेक वर्ष मध्य असारदेखि असोजको पहिलो सातासम्म जिप सफारी बन्द गर्दै आएको छ। यो अवधि वन्यजन्तुको संरक्षण, प्राकृतिक वातावरणको पुनःस्थापना र आगामी पर्यटन सिजनका लागि निकुञ्जलाई तयार पार्ने समयका रूपमा लिइन्छ।
