विशेष अदालतका पूर्वअध्यक्ष कार्कीको नेतृत्वमा गठित जेनजी आन्दोलन जाँचबुझ आयोगले कसलाई देख्ला दोषी ?
जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्की
टुरिजमफेस
काठमाडौं । सरकारले विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर कार्कीको संयोजकत्वमा जेनजी आन्दोलन न्यायिक जाँचबुझ आयोग गठन गरेसँगै उक्त घटनामा को दोषी पाइलान् भन्ने कौतुहलता बढेको छ ।
तत्ककालीन केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको सामाजिक सञ्जाल बन्दविरुद्धको जेनजी आन्दोलनमा प्रहरीले गोली चलाउँदा आन्दोलन भडकिएको थियो । करिब २० घण्टामा ओली सरकार छाड्न बाध्य भए पनि त्यस घटनमा हालसम्म मृत्यु हुनेको संख्या ७४ जना पुगिसकेको छ । चार सय बढी घाइते भएकाा छन् । ठूलो संख्यामा भौतिक संरचनाको क्षति भएको छ ।
अध्ययनका लागि ३ महिनाको अवधि पाएको कार्की नेतृत्वको आयोगले जसलाई दोषी देख्छ, त्यसैलाई कारवाही गर्ने सरकारका मन्त्रीहरूले बताएका छन् । तत्कालीन प्रधानमन्त्री ओलीले गोली चलाउन आदेश नदिएको दावी गरेका छन् । उनले बरु घटनामा प्रहरीसँग नभएका घातक हतियारको प्रयोग भएको जिकिर गरेका छन् । तर प्रत्यक्षदर्शीहरू भने विरोध प्रदर्शनका क्रममा बानेश्वरस्थित प्रतिनिधि सभामा रहेका प्रहरीले जथाभावी गोली चलाउँदा व्यापक क्षति भएको बताइरहेका छन् ।
गोलीप्रहारपछि गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका थिए । कानुनले प्रहरीलाई गोली हान्ने आदेश दिने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको छ । त्यतिखेर काठमाडौंका सिडिओ छवी रिजाल थिए । उनले आदेश दिनुअघि गृहमन्त्री वा प्रधानमन्त्रीसँग अनुमति लिएका थिए वा थिएनन् भन्नेबोर यकिन भएको छैन । प्रहरीले गोली प्रहार गर्दा अधिकांशलाई छातीभन्दा माथि प्रहार गरेको छ । प्रहरीले गोली प्रहार गरेपछि त्यतिखेर हालकी प्रधानमन्त्री सुशीला कार्कीले युवामाथि सरकारले नरसंहार गरेको बताएकी थिइन् । आयोग गठनसँगै अब धेरैको चासो छ–उक्त घटनाको दोषी को ?–तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री, प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, सिडिओ वा गोली प्रहार गर्ने सिपाही ? आयोगमा पूर्व एआइजी विज्ञान राज शर्मा र कानुनविद् विश्वेश्वर प्रसाद भण्डरी रहेका छन् ।
जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्की
