धार्मिक तथा पर्यटकीयस्थल मणिकाधाम क्षेत्रमा पूर्वाधार निर्माणमा जोड
टुरिजमफेस
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-८ चुरेफेदीस्थित धार्मिक तथा पर्यटकीयस्थल मणिकाधाम क्षेत्रमा आवश्यक पूर्वाधार निर्माणमा जोड दिइएको छ । मन्दिर परिसरमा सडक, खानेपानी, धर्मशाला, विद्युत्, टेवा पर्खाललगायता पूर्वाधार विकासका काम तीव्र गतिमा अघि बढाइएको हो ।
बैजनाथ धार्मिक पर्यटकीय विकास समितिका अध्यक्ष पुरन हमालका अनुसार प्राचीनकालदेखि पूजाआराधना हुँदै आएको मणिकाधाम भौतिक पूर्वाधारको अभावले ओझेलमा परेको थियो । “मन्दिर परिसरलाई हराभरा बनाउन फलफूलका बिरुवा लगाएका छौँ, मैदान सम्याउने, खानेपानीको लाइन मर्मत गरी भक्तजनलाई सुविधा दिने काम गरेका छौँ”, उनले भने ।
सङ्घीय सरकारले रु दुई करोड ४३ लाख ६२ हजार ६४१ को लगानीमा आधुनिक शैलीको धर्मशाला निर्माण गरिरहेको छ । समितिका सचिव डम्बरबहादुर ऐरका अनुसार धर्मशाला निर्माणको ९८ प्रतिशत काम सकिएको छ । धर्मशालासँगै स्नान गर्न धारा र तीनवटा शौचालय निर्माण हुँदैछन् ।
विद्युत् विस्तार नभएकाले राति भक्तजनले अन्धकारमा सास्ती भोग्दै आएकामा पुल विद्युतीकरण कार्यक्रम अन्तर्गत विद्युत् विस्तारको काम सुरु भइसकेको शुक्लाफाँटा-८ वडाध्यक्ष रमेशबहादुर ऐरले जानकारी दिए । “तिहारअघि धार्मिक क्षेत्र उज्यालो बनाउने योजना छ, सोहीअनुसार काम भइरहेको छ”, उनले भने ।
धार्मिक क्षेत्र वरिपरि रहेको वनलाई ‘धार्मिक वन’ का रूपमा दर्ता गरी संरक्षण गर्ने कार्य पनि भइरहेको समितिले जनाएको छ । हरेक वर्ष वर्षात्को कारण बिग्रिने सडकलाई मर्मत गरी भक्तजनको आवागमन सहज बनाउन पहल भइरहेको छ ।
समाजसेवी टेकबहादुर हमालले मणिकाधाम जस्तो महत्त्वपूर्ण पर्यटकीयस्थलको विकासका लागि स्थानीय तहले आवश्यक बजेट विनियोजन गर्नुपर्नेमा जोड दिए । पछिल्ला तीन वर्षदेखि स्थानीय तहबाट कुनै बजेट उपलब्ध नभएको उनले बताए । “बाह्य स्रोतबाट आएको बजेटले मात्र अहिलेको पूर्वाधार निर्माण सम्भव भएको हो”, उनले भने ।
