पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले छिम्केश्वरी मन्दिरको सौन्दर्यकरण

टुरिजमफेस
तनहुँ । तनहुँको सबैभन्दा अग्लो स्थानमा रहेको छिम्केश्वरी माई मन्दिरको सौन्दर्यकरण गरिएको छ ।
आँबुखैरेनी गाउँपालिका-५ स्थित छिम्केश्वरीमा रहेको छिम्केश्वरी माईलाई धार्मिक पर्यटकीय स्थल बनाउन पालिकाले यसको सौन्दर्यकरण गरिएको हो । छिम्केश्वरी समुन्द्र उचाइबाट दुई हजार एक सय ३४ मिटर उचाइमा अवस्थित छ ।
मन्दिरको पुनर्निर्माण अभियानअन्तर्गत दर्शनका लागि भक्तजन तथा पर्यटकको विश्रामका लागि नेपाली कला संस्कृति झल्किने पौवा पाटी (फाल्चा) निर्माण गरिएको वडाध्यक्ष सन्तोष गुरुङले जानकारी दिए ।
त्यस्तै मन्दिरभित्र पित्तलको चँदुवा तथा पाताहरु लगाउने, बाहिर पेटी तथा सिँढीहरुमा तेरिया इट्टा लगाउने, आँगन परिसरमा ढुङ्गाहरु छाप्ने काम गरिएको उनले बताए । आकर्षक बनाएर पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित काम गरिएको छ ।
गाउँपालिकाले छिम्केश्वरी माई मन्दिर नजिकै रहेको बूढीमाईको मन्दिर पनि पुनर्निर्माण गर्ने लक्ष्य राखेको छ । सात देवीमध्ये जेठी बुढीमाईको मन्दिर काठैकाठले पुनर्निर्माण गर्ने लक्ष्य राखिएको छ ।
गोरखा मनकामनाकी दिदीका रुपमा पुजिँदै आएकी छिम्केश्वरीमाई मन्दिरमा पूजाआजा गरेपछि मनले चिताएको इच्छा पूरा हुने धार्मिक विश्वास रहँदै आएको बताइन्छ । सात देवीमध्ये जेठी बूढीदेवीमाई र माइली छिम्केश्वरीमाई छिम्केश्वरीलेकमै अवस्थित छन् भने साइली गोरख कालीमाई, काइली मनकामनामाई, अन्तरी इच्छाकामनामाई, जन्तरी अन्नपूर्णामाई र कान्छी अकलामाईलाई सोही स्थलबाट दृश्यावलोकनसहित दर्शन गर्न सकिन्छ । छिम्केश्वरीबाट धौलागिरी, अन्नपूर्ण, लमजुङ, मनास्लु, माछापुच्छ्रे लगायतका हिमाल आँखै अगाडि हेर्न सकिन्छ ।
महाभारत शृङ्खलाको सबैभन्दा अग्लो स्थानमा रहेको छिम्केश्वरीलाई धार्मिक पर्यटनको केन्द्रविन्दु बनाउने गाउँपालिकाको लक्ष्य छ । धार्मिक पर्यटन केन्द्र बनाउनका लागि यस ठाउँलाई प्राथमिकताका साथ बजेट विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए ।