पर्यटन प्रवर्द्धनका लागि साहसिक खेलमा लगानी गर्दै गुल्मीका स्थानीय तह

टुरिजमफेस
गुल्मी । पछिल्लो समयमा स्थानीय पालिकाले जिल्लामा ‘जिपलाइन’ र ‘स्काई साइक्लिङ’का क्षेत्रमा लगानी गर्न थालेका छन् । युवावर्गमा साहसिक खेलप्रति आकर्षण बढ्न थालेसँगै यहाँका पालिका पर्यटन प्रवर्द्धनका लागि नयाँनयाँ पूर्वाधार निर्माणमा लाग्न थालेका हुन् ।
साहसिक खेलप्रति जिल्लामा स्थानीय युवा, पाका उमेर समूहसम्मका व्यक्तिको रुचि बढ्न थालेको छ । जिल्लामा स्थानीय पालिकाले साहसिक खेलका रूपमा रहेको जिपलाइन र स्काई साइक्लिङका लागि लाखौँ रकम खर्चिएर पूर्वाधार निर्माणमा जुटेका हुन् ।
जिल्लामा पहिलोपटक छत्रकोट गाउँपालिकाममा जिपलाइन निर्माण भइसकेको छ । छत्रकोट-३ अन्तर्गत रहेका छत्र देवालय मन्दिर र लुम्छाको भगवती मन्दिर जोड्ने गरी एक हजार ८० मिटर लामो जिपलाइन निर्माण गरिएको हो ।
छत्रकोट गाउँपालिकाले एक वर्षदेखि जिपलाइन सञ्चालनमा आएको जनाएको छ । ‘रुरु रेसुङ्गाको धार्मिक आश, छत्रकोटमा बसौँ बास’ भन्ने नाराका साथ गाउँपालिकाले छत्रकोटभित्र रहेका पर्यटकीय स्थानलाई जिपलाइन सेवामार्फत माध्यमबाट प्रचारप्रसार गर्न थालेको गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले बताए । उनका अनुसार गाउँपालिका र लुम्बिनी प्रदेशको समपुरक बजेट अन्तर्गत रु ८६ लाख ७३ हजार १४४ लागतमा उक्त जिपलाइन निर्माण गरिएको हो ।
पछिल्लो पटक मदाने गाउँपालिकामा पनि जिपलाइन र स्काई साइक्लिङ निर्माण गरिसकिएको छ । मदाने-७ स्थित भनभनेको रोल्मा तिखेचुलीमा पर्यटन पूर्वाधार कार्यक्रमअन्तर्गत जिपलाइन र स्काई साइक्लिङसहित विभिन्न पर्यटकीय पूर्वाधारहरु निर्माण गरिएको गाउँपालिका कार्यालयले जनाएको छ ।