पर्यटन प्रवर्द्धनका लागि ललितपुर महानगरले बनायो जुम्लाको चन्दननाथमा गणेश मन्दिर

टुरिजमफेस
जुम्ला । ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरीबाबु महर्जनले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका लागि ऐतिहासिक सम्पदा संरक्षण गर्न आवश्यक रहेको बताएका छन् ।
ललितपुर महानगरको आर्थिक सहयोगमा जुम्लाको चन्दननाथ नगरपालिका- ५ मा पुरातात्विक शैलीमा निर्माण गरिएको गणेश मन्दिरको उद्घाटन गर्न जुम्ला पुगेका प्रमुख महर्जनले ललितपुर महानगरमा भएका मन्दिर जस्तै झल्को दिने गरी मन्दिर निर्माण गरिएको बताए । चन्दननाथका पुराना सम्पदालाई संरक्षण गर्न स्थानीय सरकारको भूमिका महत्वपूर्ण रहेको उनको भनाइ थियो ।
चन्दननाथमा निर्माण गरिएको गणेश मन्दिरका लागि ललितपुर महानगरले रु ३५ लाख सहयोग गरेको प्रमुख महर्जनले जानकारी दिए ।
चन्दननाथ नगरपालिकाका नगरप्रमुख राजुसिंह कठायतका अनुसार उक्त मन्दिरको लागत रु १९ लाख ७५ हजार रहेको छ । बाँकी रकम मन्दिरको प्रवेशद्वार बनाउन खर्च गरिने उनले बताए ।
उनका अनुसार गणेशको मूर्ति बनाउने ढुङ्गा खोकनाबाट ल्याइएको थियो भने मन्दिर ललितपुरकै कालीगढलाई निर्माण गर्न लगाइएको थियो । मन्दिर सदरमुकाम खलङ्गाको मुख्य बजार क्षेत्रमा निर्माण गरिएको छ ।
ललितपुर महानगर र चन्दननाथ नगरपालिकाबीच तीन वर्षअघि भगिनी सम्बन्ध कायम भएको थियो । भगिनी सम्बन्ध कायम भएका पालिकाको विकासमा साझेदारी कायम गर्न ललितपुर महानगरले विभिन्न परियोजना अघि बढाएको छ ।