साढे तीन महिनापछि पर्यटन बोर्डमा सीईओ खोजी सुरु, तीन सदस्यीय उपसमिति सक्रिय
काठमाडौं । नेपाल पर्यटन बोर्ड लामो समयदेखि नेतृत्वविहीन बनेपछि प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिको प्रक्रिया पुनः अघि बढेको छ। सीईओ पद रिक्त भएको करिब साढे तीन महिनापछि बोर्ड सञ्चालक समितिले नयाँ नेतृत्व छनोटका लागि तीन सदस्यीय उपसमिति गठन गरेसँगै नियुक्तिको बाटो खुलेको हो।
बोर्ड सञ्चालक समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयकी सहसचिव इन्दु घिमिरेको संयोजकत्वमा उपसमिति गठन गरेको छ। समितिमा बोर्डका सञ्चालक सहदेव धमला र पेम्बा शेर्पा सदस्य छन्।
गत वैशाख १९ गतेदेखि बोर्डको सीईओ पद रिक्त छ। राजनीतिक नियुक्तिका पद खारेज गर्ने सरकारी निर्णयको प्रभाव पर्यटन बोर्डमा परेपछि तत्कालीन सीईओ दीपकराज जोशी पदमुक्त भएका थिए। त्यसयता बोर्ड स्थायी नेतृत्वविहीन अवस्थामा सञ्चालन हुँदै आएको छ।
पर्यटन बोर्ड नियमावली, २०५५ मा भएको तेस्रो संशोधनअनुसार सीईओ नियुक्तिका लागि छनोट उपसमिति गठन गर्ने व्यवस्था छ। नियमावलीअनुसार मन्त्रालयका एक सहसचिव र बोर्डका दुई सदस्य सम्मिलित उपसमितिले उम्मेदवार छनोट प्रक्रिया अघि बढाउने प्रावधान छ।
अब आवेदनदेखि सिफारिससम्मको प्रक्रिया
गठित उपसमितिले अब सीईओ पदका लागि सार्वजनिक सूचना जारी गरी आवेदन माग गर्नेछ। आवेदन परेका उम्मेदवारमध्येबाट योग्यता तथा अनुभवका आधारमा छनोट गरी अन्तर्वार्ता र प्रस्तुतीकरण लिइनेछ।
त्यसपछि उपसमितिले उत्कृष्ट तीन उम्मेदवारको नाम पर्यटन बोर्ड सञ्चालक समितिसमक्ष सिफारिस गर्नेछ। सिफारिस भएका तीनमध्येबाट सञ्चालक समितिले एक जनालाई चार वर्षका लागि सीईओ नियुक्त गर्ने कानुनी व्यवस्था छ।
उपसमितिले नियुक्ति प्रक्रियाको आन्तरिक तयारी अघि बढाइरहेको र आगामी साता सार्वजनिक सूचना जारी गर्ने तयारी भएको बताइएको छ। यसपटक यसअघि मन्त्रालयमा सीईओका लागि सूचीकरण भएका व्यक्तिसँगै नयाँ इच्छुक उम्मेदवारलाई समेत आवेदनको अवसर दिइनेछ।
यसअघि २०८१ भदौमा पर्यटन बोर्डको सीईओ छनोटका लागि गठित समितिको संयोजक पनि सहसचिव घिमिरे नै थिइन्।
पर्यटन क्षेत्रले खोजेको स्थायी नेतृत्व
पर्यटन बोर्ड देशको पर्यटन प्रवर्द्धन, बजारीकरण तथा पर्यटन उद्योग र सरकारबीच समन्वय गर्ने प्रमुख संस्था भएकाले लामो समयसम्म नेतृत्व रिक्त रहँदा यसको नियमित कामकारबाही प्रभावित हुन सक्ने पर्यटन व्यवसायीको धारणा छ।
विशेषगरी अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धन, गन्तव्यको ब्रान्डिङ, पर्यटक आगमन बढाउने रणनीति, निजी क्षेत्रसँग सहकार्य तथा पर्यटन बजेटको प्रभावकारी परिचालनका लागि बोर्डमा सक्षम र स्थायी नेतृत्व आवश्यक मानिन्छ।
यसैबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल ‘गनेस’ले सीईओ नियुक्तिमा योग्यता र कार्यक्षमतालाई प्राथमिक आधार बनाइने बताएका छन्। उनले नियुक्ति प्रक्रिया निष्पक्ष र पारदर्शी बनाउने संकेत दिएका छन्।
मन्त्री पौडेलले पर्यटन बोर्डको वर्तमान संरचनामा सुधार आवश्यक रहेको बताए पनि तत्काल बोर्डको कामलाई गतिशील बनाउन सीईओ नियुक्त गरेर अघि बढ्नुपर्ने धारणा राखेका छन्।
पर्यटन क्षेत्रको प्रतिस्पर्धा विश्वव्यापी रूपमा बढिरहेका बेला बोर्डको नेतृत्व चयनले आगामी दिनको पर्यटन प्रवर्द्धन रणनीतिमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले यसपटकको नियुक्तिलाई व्यवसायी तथा पर्यटन क्षेत्रले विशेष चासोका साथ हेरेका छन्। योग्य, व्यावसायिक र पर्यटन क्षेत्रको बदलिँदो अन्तर्राष्ट्रिय बजार बुझ्ने नेतृत्व चयन भए बोर्डको संस्थागत प्रभावकारिता र नेपालको पर्यटन प्रवर्द्धन अभियानलाई नयाँ गति मिल्ने अपेक्षा गरिएको छ।
