नेपाली श्रमिक लैजाने मलेसियाको नयाँ मापदण्डमा प्रधानमन्त्रीको चासो
टुरिजमफेस
काठमाडौं । नेपाली श्रमिक लैजान मलेसिया सरकारले तय गरेको नयाँ मापदण्डमा प्रधानमन्त्री सुशीला कार्कीले चासो लिएकी छन् । जस अनुसार उनले नयाँ मापदण्डका कारण पर्न सक्ने सम्भावित असर अध्ययन गरी आवश्यक पहलकदमीका लागि गृहकार्य गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव कृष्णहरि पुष्करलाई निर्देशन दिएकी छिन् ।
प्रधानमन्त्री कार्कीले पुष्करलाई आफ्नो कार्यकक्षमा बोलाएर यस विषयमा जानकारी लिएको उनको सचिवालयले जनाएको छ ।
सचिव पुष्करले मलेसियाले जारी गरेको नयाँ मापदण्डबारे जानकारी प्राप्त भएको र जसका लागि कूटनीतिक रुपमा सम्बोधन गर्नुपर्ने प्रधानमन्त्रीसमक्ष बताएका थिए । मलेसियाले सीमित म्यानपावर कम्पनीले मात्र कामदार पठाउन पाउने गरी नयाँ नीति लिएको छ । सोही नीतिका कारण थोरै संख्यामा कामदार पठाउने म्यानपावर कम्पनी समस्यामा पर्ने सम्भावना छ । अब यो समस्या कसरी समाधान गर्ने भन्ने विषयमा प्रधानमन्त्रीले पहल कदमी लिनु पर्ने व्यवसायीहरूको भनाइ छ ।
मलेसियाको नयाँ मापदण्डले नेपालका करिब एक दर्जन ठूला कम्पनी मात्र उक्त मुलुकमा कामदार पठाउन योग्य हुने वैदेशिक रोजगारी व्यवसायीहरुको भनाइ छ ।
