पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले देवघाटधाम गण्डकी परिक्रमा महोत्सव सुरु
टुरिजमफेस
चितवन । देवघाटधाम गण्डकी परिक्रमा महोत्सव आयोजना गरिएको छ । पवित्र तीर्थस्थल देवघाट धामको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आज बिहान देवघाटको वेणीमा विधिपूर्वक पूजा गरी महोत्सव सुरु गरिएको हो ।
नेपाल सन्त समाजको आह्वानमा देवघाट क्षेत्र विकास समिति र देवघाट गाउँपालिकाको आयोजनामा गरिएको महोत्सवको हरिहर सन्यास आश्रमका पीठाधीश ज्ञानानन्द सरस्वती महाराज र महेश सन्यास आश्रमका पीठाधीश रमणानन्द गिरीजी महाराजले उद्घाटन गरेका हुन् । बिहान ७ः०० बजे वेणीबाट सुरु भएको परिक्रमा महोत्सव चितवनको बागेश्वरी हुँदै हरिहर मन्दिरको बाटो भएर गैँडाकोट पुग्नेछ । गैँडाकोटमा रहेका धार्मिकस्थल चक्रवर्ती तीर्थ मन्दिर हुँदै पुनः देवघाटमा आएर समापन हुनेछ ।
देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशन सदन बरालका अनुसार दिउँसो ३ः०० बजेसम्ममा परिक्रमा सम्पन्न हुनेछ । २७.५ किलोमिटर लामो पैदल यात्रामा सन्त, महन्थ, भक्तजनलगायत तीन हजार हाराहारीको सहभागिता रहेको उनले जानकारी दिए ।
तनहुँतर्फ पशुपतिनाथ मन्दिर, गङ्गा मन्दिर, अघोर आश्रम, गलेश्वर आश्रम (सिद्धेश्वर मन्दिर), दुर्गा पाञ्चायन मन्दिर, चक्रवर्ती आश्रम (मणिमुकुन्देश्वर मन्दिर), महेश सन्यास आश्रम (विद्येश्वर मन्दिर), अभय सन्यास आश्रम (रामेश्वर मन्दिर), हरिहर सन्यास आश्रम (हरिहर मन्दिर), राम मन्दिर, लक्ष्मीनारयण मन्दिर, देवघाट पुलको मुख (गणेश मन्दिर, केदारेश्वर मन्दिर र बद्रीनाथ मन्दिर)को परिक्रमा गरिएको छ ।
