१० वामको नयाँ दल ‘नेपाली कम्युनिष्ट पार्टी’, नेतृत्वमा सबै पुराना
टुरिजमफेस
काठमाडौं । नेकपा माओवादी केन्द्रसहित १० वटा वाम घटकबीच एकता भई नयाँ राजनीतिक दल नेपाली कम्युनिष्ट पार्टीको घोषणा गरिएको छ । तर नयाँ दलमा सबै पुरानै पार्टीका नेता, कार्यकर्ता रहेका छन् ।
जेनजी आन्दोलनपछि सबैले नयाँ अनुहार र नयाँ सोच खोजिरहेको बेला पटकपटक प्रधानमन्त्री तथा मन्त्री बनेकाहरू उक्त दलको नेतृत्वकर्ता रहेको घोषणा गरिएको छ । घोषणा अनुसार नेपाली कम्युनिष्ट पार्टीको संयोजकमा करिब चार दशकदेखि माओवादीको नेतृत्व गर्दै आएका पूर्वप्रधानमन्त्रीसमेत रहेका पुष्पकमल दाहाल रहेका छन् ।
त्यस्तै सहसंयोजकमा एकीकृत समाजवादी पार्टी र त्यसभन्दा अघि नेकपा एमालेको नेतृत्वमा रहेका माधव नेपाल रहेका छन् । उनी पनि पूर्वप्रधानमन्त्री हुन् । सोही दलको तेस्रो वरियतामा पूर्वप्रधानमन्त्री झलनाथ खनाल छन् । अन्य पदाधिकारी पनि यसअघि कुनै न कुनै जिम्मेवारीमा रहेका व्यक्तिहरू हुन् । एकीकरणपछि त्यस दलले २३ बुँदे प्रतिबद्धतासमेत सार्वजनिक गरेको छ ।
