आकर्षक आकाशे गुफा- पुग्न सक्दैनन्, पर्यटकले हर्जोग पदमार्गबाटै अनौठो मान्दै हेर्छन्
टुरिजमफेस
म्याग्दी । सुख्खा पहाडको टुप्पोमा टाढैदेखि देखिने गोलो आकारको प्वाल । झट्ट हेर्दा मानव निर्मित प्रवेशद्वार जस्तै देखिने यो प्वाल प्राकृतिक हो ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको यो दृष्य अनौठो र सुन्दर देखिन्छ । पहाडको फेदीबाट हेर्दा आकाश देखिने भएकाले स्थानीयद्वारा ‘स्काई केभ’ (आकाशे गुफा) नामाकरण गरिएको छ ।
नारच्याङबाट अन्नपूर्ण आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्गमा पर्ने यो गुफा अनौठो र आकर्षक भएको स्थानीय माइकल पुनले बताए । “अन्नपूर्ण आधार शिविर आउनेजाने पर्यटकले पदमार्गबाट अनौठो मानेर पहाडको टुप्पोमा रहेको गुफा हेर्ने गरेका छन्”, उनले भने, “गुफासम्म पुग्ने पदमार्ग नभएकाले पर्यटक यहाँ पुग्न सकेका छैनन् ।”
मुख्यबाट ३० मिनेट हिँडेपछि समुद्री सतहदेखि तीन हजार ९०० मिटर उचाइमा रहेको आकाशे गुफामा पुग्न सकिन्छ । करिब १५ मिटर लामो गुफा सुरुङ जस्तै रहेको पुनले बताए । गुफासम्म पुग्ने व्यवस्थित पदमार्ग नभएकाले पैदालयात्रा जोखिम मानिएको उनको भनाइ छ ।
पुनका अनुसार गुफाभित्रैबाट निलगिरि र अन्नपूर्ण हिमशृङ्खला तथा वरपरका पहाडी भूगोलको दृष्य अवलोकन गर्न सकिन्छ । काठमाडौँबाट अन्नपूर्ण आधार शिविर घुम्न आएका सुजित भट्टले पहाडको टुप्पोमा कडा चट्टानले बनेको स्काई केभ अनौठो लागेको प्रतिक्रिया दिए । “टाढैबाट हेर्दा पनि गुफाका विषयमा धेरै उत्सुकता जाग्यो”, उनले भने, “सम्बन्धित ठाउँमै पुगेर अवलोकन गर्ने सुविधा भएमा कौतूहलता मेटिने थियो ।”
नयाँ पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास भएको मौरिस हर्जोग पदमार्गका अभियान्ता तेज गुरुङले स्काई केभ पदमार्गको एक आकर्षण भएको बताए । “विसं २०६८ मा मौरिस हर्जोग पदमार्गको अध्ययनका क्रममा स्काई केभ पनि पहिचान भएको थियो”, उनले भने, “पदमार्गसँगै रहेका अन्य स्थानमा आधारभूत पूर्वाधार बनाएर पर्यटक आउने वातावरण बनाइएको छ ।”
स्काई केभसम्म पुग्ने पदमार्ग बनाएर भ्रमणमा आउने पर्यटकको बसाइँ लम्बाउने र सहायक गन्तव्यका रूपमा विकास गर्ने योजना रहेको गुरुङले जानकारी दिए ।
