पर्यटकीय गन्तव्यस्थल गोलपोखरी, दृश्यावलोकनका लागि आकर्षकस्थल
टुरिजमफेस
नवलपरासी । नवलपुरको हुप्सेकोट गाउँपालिका–५ स्थित गोलपोखरी पर्यटकीय गन्तव्यस्थल बन्दै गएको छ । जिल्लाको पहाडी क्षेत्रमा पर्ने गोलपोखरी पुग्ने आन्तरिक पर्यटकको सङ्ख्या पछिल्ला दिनमा बढ्दै गएको छ ।
उत्तरतर्फ देखिने हिमशृङ्खला, नवलपुरको पहाडी क्षेत्रका बस्ती, कालीगण्डकी नदी आसपास नवलपुर र तनहुँका पहाडका टाकुराको रमणीय दृश्य सहज रूपमा अवलोकन गर्न सकिने हुँदा गोलपोखरी क्षेत्र पछिल्लो समय पर्यटकीय गन्तव्य बन्दै गएको छ । छोटो दूरीको पहाडी यात्राको अनुभव लिँदै हिमाली दृश्य सहज रूपमा अवलोकन गर्न सकिने हुँदा गोलपोखरी क्षेत्र सुन्दर लागेको गोलपोखरी घुम्न पुग्नुभएका कावासोती–१५ का दुर्गा महतोले बताए ।
बजार क्षेत्रबाट केही किलोमिटरको यात्रा गरी यति सुन्दर हिमाल र पहाडका दृश्यहरू देख्दा आफूलाई निकै रमाइलो लागेको उनले बताए । नवलपुरबाटै यति सुन्दर हिमशृङ्खला अवलोकन गर्न पाइन्छ भन्ने आफूलाई नलागेको र गोलपोखरी आउँदा फरक अनुभूति गरेको महतोले बताए । “बजार क्षेत्रमै रहँदा कस्तो होला भन्ने थियो, यहाँ आउँदा साँच्चै नवलपुरको यस्तो ठाउँ पनि रहेछ भन्ने भयो, सेता हिमाल आँखै अगाडि देख्दा धेरै आनन्द आयो”, उनले भने ।
महतोजस्तै अहिले नवलपुरको बजार क्षेत्रबाट गोलपोखरी पुग्नेको सङ्ख्या दिनानुदिन बढ्दै गएको छ । नवलपुरको कावासोती फलफूल चोक तथा देवचुलीको दलदलेबाट कुमसोत–पोखरी हुँदै करिब २५ किलोमिटर यात्रा गरेपछि गोलपोखरी पुग्न सकिन्छ ।
गोलपोखरी क्षेत्रमा मुख्य गरी सार्वजनिक बिदाका दिनमा आन्तरिक पर्यटकको चहलपहल धेरै हुने गरेको हुप्सेकोट गाउँपालिका–५ का वडाध्यक्ष पदमबहादुर रानामगरले बताए । हुप्सेकोट गाउँपालिकाले गोलपोखरीसहितको धौबादी क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न पूर्वाधार निर्माणको काम गरेको वडाध्यक्ष रानामगरले बताए ।
