वैदेशिक रोजगारीका बेथिति नियन्त्रण गर्न प्रधानमन्त्री कार्कीको सरकारी कर्मचारीलाई निर्देशन–म्यानपावर मोटाउने मात्र काम नगरौं
टुरिजमफेस
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक रोजगार व्यवसायका बेथिति नियन्त्रण गर्न मातहतका निकायलाई निर्देशन दिएकी छन् । विदेशमा गएर दुःख पाउने, ठगिने र सरकारले उद्धार गर्नुपर्ने अवस्था आउन नदिने गरी प्रणाली स्थापित गर्न उनले श्रम मन्त्रालय, परराष्ट्र मन्त्रालय, कानुन मन्त्रालय र वैदेशिक रोजगार विभागका अधिकारीहरुलाई निर्देशन दिएकी हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा श्रम समस्याका विषयमा छलफलका क्रममा प्रधानमन्त्री कार्कीले कुवेतमा अलपत्र परेका महिला कामदारको छिटो उद्धार गर्न पनि ताकेता गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
सरकारले नीति नियम बनाउँदा वैदेशिक रोजगार व्यवसायी र दलालको मात्र लाभ नहेरी श्रमका लागि विदेश जाने आफ्ना नागरिकको सुरक्षालाई पहिलो प्राथमिकता राख्नुपर्ने प्रधानमन्त्री कार्कीको भनाइ छ ।
“म्यानपावर व्यवसायी मोटाउने काम मात्र नगरौँ । म्यानपावरलाई सचेत गराउनुपर्यो । अलपत्र पार्न भएन”, उनले भनिन् । उनले वैदेशिक रोजगारीमा जानुअघि सम्बन्धित मुलुकको भाषा र कामको अभिमुखीकरण तथा तालिम लिएर मात्र जाने व्यवस्था कडाका साथ लागू गर्नसमेत सरकारी अधिकारीहरुको ध्यानाकर्षण गराइन् ।
“वैदेशिक रोजगारीमा जानेले पनि पढ्नुपर्यो । तालिम लिनुपर्यो । राज्यले कर लिन्छ भने सुरक्षित आप्रवासनको पनि सुनिश्चितता गर्नुपर्यो । सबै कुरा दलाललाई छाडिदिएर हुँदैन”, उनले भनिन्, “दलालले आफ्नो फाइदाका लागि उक्साउँछन् । गाउँदेखि सोझा मान्छेलाई लिएर आउँछन् । यता ठूलाबडाका म्यानपावर कम्पनी छन् । सबै मिलेर जनताको सोझोपनको फाइदा उठाएका छन् यो अवस्था अन्त्य गर्न राज्यले नै काम गर्नुपर्छ ।”
