आम्दानी र खर्च पारदर्शी गर्नुको साटो उल्टै नेपालगञ्जमा नगरबस प्रयोग नै हुन छाडे
टुरिजमफेस
नेपालगञ्ज । पाँच वर्षदेखि सञ्चालनमा आएको नेपालगञ्ज उपमहानगरपालिकाको सातवटा नगरबस अहिले प्रयोगविहीन अवस्थामा रहेका छन् ।
वार्षिक करिब एक करोड ठेक्कामा लगाइका ती नगरबसको आम्दानी तथा खर्च पारदर्शी नभएपछि बन्द गर्नुपर्ने अवस्थामा पुगेको नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ । सो नगरबस प्रयोगविहीन भएपछि आवश्यक व्यवस्थापनका लागि अध्ययन समिति गठन गरेको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले जानकारी दिए ।
‘अहिले हामीले त्यसको अध्ययनका लागि समिति गठन गरेका छौँ, विस्तृत जानकारी आएपछि आवश्यक व्यवस्था गरिने छ’ उनले भने। नगरबस सञ्चालनका लागि उपमहानगरपालिकाले चार थान ४१ सिटे र तीन थान ३६ सिटे नगर बस तीन करोड ५८ लाख ११ हजार ४१५ मा खरिद गरेको थियो। केही समय चलेपनि आर्थिक पक्षसहित व्यवस्थापनमा समस्या देखिएपछि नगरबस सञ्चालन हुन नसकेको बताइएको छ ।
उपमहानगरपालिकाले नगरबस सञ्चालन गर्न नसकेपछि बस सञ्चालनका लागि बोलपत्र आह्वान गरी ठेक्कामा लगाएको थियो। तर, ठेकेदारले समेत नियमित रुपमा बस सञ्चालन गर्न नसकेपछि वर्षौंदेखि नगरबस बसपार्कमा थन्क्याइएको नेपालगञ्ज उपमहानगरपालिका–६ का वडाध्यक्ष समीरप्रताप सिंहले जानकारी दिए ।
नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्ता तथा वडा नं १ का अध्यक्ष प्रमोद रिजालले बसपार्कमा थन्किएका बसको अवस्था, कानुनी मुद्दा र त्यसको प्रयोगको अवस्थाबारे अध्ययन गरी आगामी कार्यपालिका बैठकमा प्रतिवेदन पेस गर्न १५ दिनको समय तोकिएको जानकारी दिँदै अध्ययन समितिको प्रतिवेदनपछि मात्रै सबै विषय आउने स्पष्ट गरे ।
‘बरु थप बजेट विनियोजन गरेर भएपनि जुन उद्देश्यले बस खरिद गरिएको हो सोहीबमोजिम सञ्चालन गर्न उचित हुन्छ’, वडाध्यक्ष रिजालले भने ।
उपमहानगरपालिकाको सामाजिक विकास शाखा प्रमुख कृष्ण जोशीले पाँच वर्षसम्म सञ्चालन भएको नगरबस अहिले प्रयोगविहीन अवस्थामा रहेको जानकारी दिँदै नगरबस र बसपार्क एकीकृत रुपमा ठेक्का लगाइए पनि सिर्जित समस्याका कारण बस सञ्चालन हुन नसकेको बताए ।
नेपालगञ्ज उपमहानगरपालिकाको गत कात्तिकमा बसेको कार्यपालिकाको बैठकले नगरबस व्यवस्थापनका लागि वडा नं ४ का अध्यक्ष गोपाल पुनको संयोजकत्वमा छ सदस्यीय नगरबस व्यवस्थापन अध्ययन समिति गठन गरेको थियो ।
यसैबीच, नगरबस सञ्चालनका विषयमा अदालतमा समेत मुद्दा परेको बताइएको छ ।
