खराब मौसमका कारण मनाङबाट पर्यटक फर्किन थाले
लमजुङ । लगातारको वर्षासँगै मौसम प्रतिकूल बनेपछि अन्नपूर्ण चक्रीय पदमार्ग हुँदै मनाङ पुगेका विदेशी पर्यटकले यात्रा छोट्याएर लमजुङतर्फ फर्किन थालेका छन् ।
थोराङ्ला भञ्ज्याङ पार गर्दै मुस्ताङ, पोखरालगायत क्षेत्रमा जाने योजनामा रहेका पर्यटकले मौसम बिग्रिएपछि जोखिम बढेको भन्दै मनाङबाटै फर्कने निर्णय गरेका हुन् ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) धारापानीका इन्चार्ज भूपेन्द्र गुरुङका अनुसार असोज ६ देखि १२ गतेसम्म २४६ विदेशी पर्यटक मनाङबाट लमजुङतर्फ फर्किएका छन् । फर्किनेमा १५१ पुरुष र ९५ महिला छन् ।
केही दिनअघिसम्म धारापानी हुँदै दैनिक १०० देखि १५० जनासम्म विदेशी पर्यटक मनाङ प्रवेश गर्ने गरेका थिए । तर, निरन्तरको वर्षा र मौसममा आएको खराबीपछि पर्यटकको आवागमनमा उल्लेख्य कमी आएको छ ।
हाल दैनिक एक–दुई जना पर्यटक मात्र मनाङतर्फ जाने गरेका छन् भने फर्किने पर्यटकको संख्या बढेको गुरुङले बताए ।
‘केही दिनअघिसम्म दैनिक १०० देखि १५० जनासम्म पर्यटक मनाङतर्फ जाने गरेका थिए,’ उनले भने, ‘अहिले एक–दुई जना मात्र जाने गरेका छन्, अधिकांश पर्यटक फर्किरहेका छन्।’
मौसम बिग्रिएसँगै पदमार्गमा जोखिम बढेकाले थोराङ्ला भञ्ज्याङ हुँदै मुस्ताङलगायत गन्तव्यतर्फ जाने तयारीमा रहेका पर्यटकले बीचमै यात्रा स्थगित गरेका हुन् ।
लमजुङको बेँसीसहर नगरपालिका–७ बाट सुरु हुने अन्नपूर्ण चक्रीय पदमार्ग लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी र कास्की हुँदै अघि बढ्छ । समुद्री सतहबाट ५ हजार ४१६ मिटर उचाइमा रहेको थोराङ्ला भञ्ज्याङ यस पदमार्गको सबैभन्दा अग्लो बिन्दु हो ।
प्राकृतिक सौन्दर्यसँगै विभिन्न जातजातिको संस्कृति र जीवनशैली अवलोकन गर्न पाइने भएकाले अन्नपूर्ण चक्रीय पदमार्ग विदेशी पर्यटकका लागि लोकप्रिय पदयात्रा गन्तव्यका रूपमा रहँदै आएको छ।
