मौलिक संस्कृति र ग्रामीण जीवनले आकर्षित गर्दै लमजुङको सिङ्दी
लमजुङ । ढुङ्गाले छाएका परम्परागत घर, गुरुङ समुदायको संस्कृति, स्थानीय स्वाद र शान्त ग्रामीण परिवेशले लमजुङको सिङ्दी गाउँलाई पर्यटकीय गन्तव्यका रूपमा चिनाउन थालेको छ ।
क्व्होलासोथार गाउँपालिका–५ मा पर्ने सिङ्दी प्रकृति र संस्कृतिको संयोजनका कारण पछिल्लो समय ग्रामीण पर्यटनमा रुचि राख्ने पर्यटकको रोजाइमा पर्न थालेको हो ।
विगतमा पर्याप्त प्रचारप्रसार हुन नसक्दा ओझेलमा रहेको गाउँमा २०७६ सालदेखि होमस्टे सञ्चालन भएपछि पर्यटकको आगमन बढेको स्थानीय बताउँछन् । होमस्टे भने २०८१ सालमा औपचारिक रूपमा दर्ता गरिएको हो । गाउँमा रहेका २३५ घरमध्ये हाल १८ घरले होमस्टे सञ्चालन गरिरहेका छन् ।
सिङ्दी सामुदायिक होमस्टेका अध्यक्ष हुकुमबहादुर गुरुङका अनुसार अधिकांश पर्यटक एक रात गाउँमा बिताउने गर्छन् । समूह बनाएर सवारीसाधन रिजर्भ गरी आउने पर्यटकको संख्या पनि बढिरहेको छ । नियमित रूपमा पर्यटक नआए पनि मासिक करिब १०० जनासम्म पुग्ने गरेको उनले बताए ।
‘पहिले पर्यटकको आवागमन निकै कम थियो,’ उनले भने, ‘गुरुङ सम्पदा पदमार्गसँग जोडिएपछि विस्तारै पर्यटक बढ्न थालेका छन्। कलेजका विद्यार्थी तथा विभिन्न समूह बनाएर आउनेहरू पनि धेरै छन्।’
गुरुङ समुदायको बाहुल्य रहेको सिङ्दीमा पर्यटकका लागि घाँटु, सोरठी र कृष्णचरित्रजस्ता मौलिक सांस्कृतिक प्रस्तुति देखाउने गरिन्छ । गाउँका गुम्बा तथा देवीस्थानलगायत धार्मिक तथा सांस्कृतिक स्थलले पनि पर्यटकलाई आकर्षित गर्ने गरेका छन् ।
होमस्टेमा स्थानीय रूपमा उत्पादित चामल, कोदो, तरकारी, सागसब्जी र लोकल कुखुराबाट तयार गरिएका परिकारलाई प्राथमिकता दिइन्छ । एक रातको प्याकेजका लागि प्रतिव्यक्ति १ हजार १०० रुपैयाँ शुल्क लिने गरिएको अध्यक्ष गुरुङले जानकारी दिए ।
पदमार्गले थपिँदै पर्यटकीय सम्भावना
सिङ्दीको आकर्षण होमस्टेमा मात्र सीमित छैन । गाउँ गुरुङ सम्पदा पदमार्गसँग जोडिएको छ । कास्कीको ताङतिङबाट सुरु हुने पदमार्ग क्रपु डाँडा हुँदै लमजुङका विभिन्न गुरुङ बस्ती पार गरेर मनाङको तिमाङसम्म पुग्छ ।
पुराना पैदल तथा व्यापारिक मार्ग, भेडीगोठ र खर्क समेटिएको यस पदमार्गबाट अन्नपूर्ण, माछापुच्छ्रे, लमजुङ, हिमलुङ, गणेश, हिमालचुली र मनास्लु हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ ।
सिङ्दीबाट कास्कीको मादी गाउँपालिका–२ स्थित क्रपु डाँडासम्म पदमार्ग विस्तारको काम पनि भइरहेको छ । हालसम्म करिब १ हजार ३०० मिटर क्षेत्रमा सिँढी निर्माण भइसकेको छ भने बाँकी खण्डलाई व्यवस्थित गर्ने काम जारी छ ।
क्व्होलासोथार गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङका अनुसार गाउँपालिकाले पर्यटन प्रवर्द्धनका लागि सडक तथा पदमार्ग निर्माणलाई प्राथमिकता दिएको छ । स्थानीय उत्पादनबाट अचारलगायत वस्तु उत्पादन, पर्यटनसम्बन्धी सीपमूलक तालिम, खेलकुद तथा सांस्कृतिक कार्यक्रम र प्रचारप्रसारका गतिविधि सञ्चालन भइरहेका छन् ।
धार्मिक पर्यटनलाई प्रोत्साहन गर्न गुम्बा, प्रवेशद्वारलगायत पूर्वाधार निर्माणको काम पनि अघि बढाइएको उनले बताए ।
पर्यटनसँगै स्थानीय जीवनशैलीमा परिवर्तन
होमस्टे सञ्चालनसँगै गाउँको सामाजिक तथा आर्थिक गतिविधिमा पनि सकारात्मक परिवर्तन आएको स्थानीयको अनुभव छ । ६६ वर्षीय योगप्रसाद गुरुङका अनुसार पर्यटक आउन थालेपछि घरआँगनको सरसफाइ र घर व्यवस्थापनमा स्थानीयको ध्यान बढेको छ ।
‘पहिले खेतीपातीमै बढी निर्भर हुनुपर्थ्यो र गाउँको चिनारी पनि सीमित थियो,’ उनले भने, ‘अहिले होमस्टेबाट आम्दानीको नयाँ बाटो खुलेको छ। पर्यटक आउन थालेपछि गाउँको प्रचार पनि बढेको छ।’
सडक तथा पदमार्ग विस्तार, होमस्टे सञ्चालन, स्थानीय सीप विकास र सांस्कृतिक गतिविधिले सिङ्दीको पर्यटकीय सम्भावना विस्तार गरिरहेको छ । आधुनिक पूर्वाधार थपिँदै गए पनि परम्परागत संस्कृति, खानपान, संस्कार र ग्रामीण जीवनशैलीलाई संरक्षण गर्न सके सिङ्दीले मौलिक पहिचान कायम राख्दै पर्यटनबाट स्थानीय अर्थतन्त्रलाई थप चलायमान बनाउन सक्ने स्थानीयको विश्वास छ ।
