नयाँ वर्षको उल्लास क्षणमै मातममा, स्विट्जरल्यान्डको बार आगलागीमा ४० जनाभन्दा बढीको ज्यान गयो
काठमाडौं/एजेन्सी ।
नयाँ वर्षको स्वागतमा रमाइरहेका सयौँ मानिसबीच स्विट्जरल्यान्डको एक लोकप्रिय स्की रिसोर्टमा भएको भीषण आगलागीले ठूलो मानवीय क्षति निम्त्याएको छ। क्रान्स–मोन्टानास्थित एक बारमा भएको आगलागीमा कम्तीमा ४० जनाको जलेर मृत्यु भएको छ भने ११५ जना घाइते भएका छन्। घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको बताइएको छ।
‘न्यू इयर इभ’को पार्टी चलिरहेका बेला ले कन्स्टेलेसन नामक बारमा राति करिब १ः३० बजे अचानक आगो सल्किएको थियो। ठूलो भिडभाड भएका कारण आगो नियन्त्रणबाहिर जानुका साथै बाहिर निस्कने क्रममा भागदौड मच्चिएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार आगो अत्यन्तै छिटो फैलिएको थियो। सामाजिक सञ्जाल तथा प्रमाणित भिडियो फुटेजमा भवनभित्रबाट आगो तीव्र रूपमा फैलिँदै गएको देखिन्छ।
स्थानीय अधिकारीहरूका अनुसार मृतकको यकिन संख्या अझै पुष्टि भइरहेको छ। गम्भीर जलनका कारण धेरै घाइतेको पहिचान गर्न कठिन भइरहेको क्यान्टन प्रहरी प्रमुख फ्रेडरिक गिस्लरले बताएका छन्।
स्थानीय बासिन्दाका अनुसार उक्त बार विशेषगरी किशोर–किशोरी र युवा पुस्तामाझ निकै लोकप्रिय थियो। आगो फैलिनासाथ मानिसहरू ज्यान जोगाउन साँघुरो सिँढी र बाहिरिने बाटो तर्फ दौडिएका थिए।
घटनामा विदेशी नागरिक पनि परेका छन्। इटालीका अधिकारीहरूले ६ जना इटालियन नागरिक अझै सम्पर्कविहीन रहेको जनाएका छन् भने १३ जना इटालियन घाइते अस्पतालमा उपचाररत छन्। फ्रान्सको विदेश मन्त्रालयले ८ जना फ्रान्सेली नागरिक बेपत्ता रहेको जानकारी दिएको छ।
फ्रान्सेली सञ्चारमाध्यम बीएफएम टीभीसँग कुरा गरेका प्रत्यक्षदर्शी दुई युवतीले बेसमेन्ट क्षेत्रमा जन्मदिनमा प्रयोग हुने ‘फाउन्टेन क्यान्डल’ काठको छत नजिक राखिँदा आगो सल्किएको हुन सक्ने बताएका छन्। उनीहरू बाहिर निस्कन सफल भए पनि केही मिनेटमै आगो तल्लो तलासम्म फैलिएको उनीहरूको भनाइ छ।
स्थानीय अभियोजक बिएत्रिस पिलूदले घटनाबारे औपचारिक अनुसन्धान सुरु भइसकेको जानकारी दिएकी छन्। प्रारम्भिक अनुसन्धानमा आगलागीपछि विस्फोटजस्तै अवस्था सिर्जना भएको हुन सक्ने आशंका गरिएको छ।
घटनाप्रति फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोंले दुःख व्यक्त गर्दै स्विस समकक्षीसँग सम्पर्क गरी सहयोगको प्रस्ताव गरेका छन्। केही घाइतेलाई फ्रान्सका अस्पतालमा सारिएको छ भने जर्मनी र इटालीले पनि उपचारमा सहयोग गर्ने बताएका छन्।
घटनास्थल वरपरको क्षेत्र सिल गरिएको छ। फरेन्सिक टोलीले प्रमाण संकलन गरिरहेको छ भने बिहीबार साँझ सयौँ मानिसले घटनास्थल नजिक फूल र मैनबत्ती बालेर मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।
