माघ २ देखि लागू हुने निर्वाचन आचारसंहिता तयारीमा आयोग
काठमाडौं । निर्वाचन आयोगले माघ २ गतेदेखि देशभर निर्वाचन आचारसंहिता लागू गर्ने तयारी थालेको छ। आयोगले सरकारले यसबारे आधिकारिक जानकारी दिन लागेको जनाएको छ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी नेतृत्वको आयोग टोलीले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटेर आचारसंहिता लागू हुने मितिबारे जानकारी गराउने कार्यक्रम तय गरेको छ।
निर्वाचन आचारसंहिता लागू भएपछि सरकारले नियुक्ति, सरुवा, बढुवा लगायतका कार्यहरू गर्नुअघि आयोगको सल्लाह लिनुपर्नेछ। त्यसैगरी, बजेटमा तोकिएको रकम बाहेक अन्य कुनै खर्च विनियोजन गर्न पाउने छैन।
आयोगले पुस ३० गते सबै दलका प्रतिनिधिहरूलाई आचारसंहिता हस्ताक्षर गराउने तयारी गरेको छ। हस्ताक्षर गरेपछि आयोगले आचारसंहिताको कडाइका साथ पालना सुनिश्चित गर्नेछ।
माघ २ गते मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयहरू स्थापना हुनेछन् र यही दिनदेखि आचारसंहिता लागू हुनेछ। देशभरका १६५ निर्वाचन क्षेत्रमा कार्यालयहरू सञ्चालनमा आउनेछन्। यसैबीच, माघ ६ गते प्रतिनिधि सभाको प्रत्यक्ष उम्मेदवारी दर्ता हुने कार्यक्रम पनि तय गरिएको छ।
निर्वाचन आयोगले पुस १२ गते नै आचारसंहिता स्वीकृत गरिसकेको छ। यस पटकको आचारसंहितामा दलहरूले पहिलो पटक आफ्नो घोषणापत्र आयोगमा पेस गर्नुपर्ने प्रावधान राखिएको छ। साथै, एआई प्रविधि प्रयोग गरेर प्रचार गर्ने कार्यमा पनि निगरानी गरिने व्यवस्था गरिएको छ।
