पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यले आयोजना गरिएको हाफ म्याराथनको उपाधि सनम गुरुङले जिते
टुरिजमफेस
तनहुँ । व्यास नगरपालिका-६ बाह्रबिसे युवा क्लबले आज आयोजना गरेको व्यासगुफा–गलेखामकोट अल्ट्रा हाफ म्याराथनको उपाधि आँबुखैरेनीका सनम गुरुङले जितेका छन् ।
चौतीस धावकलाई पछाडि पार्दै व्यास–३ व्यास गुफादेखि व्यास–६ गलेखामकोटसम्मको २१ किलोमिटर दूरीको म्याराथनमा गुरुङ प्रथम भएका हुन् ।
म्याराथनमा शुक्लागण्डकी नगरपालिकाका टोपबहादुर कुमाल द्वितीय र भानु नगरपालिकाका आदित्य जिसी तृतीय भए । विजेतालाई क्रमशः रु ३५ हजार, रु २५ हजार र रु १५ हजार पुरस्कार प्रदान गरिएको क्लबका अध्यक्ष ज्ञानबहादुर गुरुङले जानकारी दिए ।
दुई धार्मिक तथा पर्यटकीय स्थल व्यासगुफा र गलेखामकोटलाई खेलकुदको माध्यमबाट जोड्ने र दुवै ठाउँको पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित हाफ म्याराथन गरिएको उनले जानकारी दिए । व्यासका नगर प्रमुख वैकुण्ठ न्यौपानेले खेलकुदले दुई ठाउँको धार्मिक पर्यटन प्रचारप्रसारमा सहयोग पुग्ने धारणा राखे ।
उनले भने, “व्यास गुफा महत्वपूर्ण धार्मिकस्थल हो, गलेखामकोट धार्मिक र ऐतिहासिक हिसाबले महत्वपूर्ण कोट हो, त्यसको विकास र प्रवद्र्धनका लागि जुटेका छौं ।” म्याराथनले गलेखामकोटसम्म भावनात्मक हिसाबले सम्बन्ध जोड्न सहयोग पुगेको बताउँदै नगरप्रमुख न्यौपानेले गलेखामकोटको थप प्रचारप्रसार गर्न सबै पक्ष लाग्नुपर्नेमा जोड दिए । नगरपालिकाले माघ १६ गते मानुङकोटदेखि पुलिमराङसम्म अल्ट्रा म्याराथन आयोजना गर्न लागेको बताउँदै नगरप्रमुख न्यौपानेले खेललाई पर्यटनसँग जोडेर जानुपर्ने धारणा राखे ।
