सप्तकोशीको धार फेरिँदा चिलिया टापुमा बढ्दो विस्थापनको त्रास
संगिता राई
सुनसरी । सप्तकोशी नदीको बहावसँगै सुनसरीको बराहक्षेत्र–६ र उदयपुरको बेलका क्षेत्रका बासिन्दाको चिन्ता पनि हरेक वर्ष बढ्दै गएको छ। नदीमा आउने बाढीभन्दा पनि तीव्र कटानका कारण यहाँका स्थानीय आफ्नो घर, खेत र वर्षौँदेखिको थातथलो जोगाउने संघर्षमा छन्।
बराहक्षेत्र–६ स्थित श्रीलङ्का टापुका पदम राईले केही वर्षअघि यहाँ बसाइँ सर्दा कोशी निकै पर बगेको सम्झिन्छन्। अहिले भने नदीको धार बस्ती नजिकै आइपुगेको छ।
२०७४ सालदेखि परिवारसहित बस्दै आएका राईसँग करिब एक बिघा जमिन छ। धान र मकैखेतीसँगै गाईभैँसी पालेर परिवारको गुजारा चलाउँदै आएका उनी खेतीभन्दा पनि नदीले जमिन लैजाने चिन्तामा छन्।
“पहिले कोशी धेरै टाढा थियो। अहिले बस्ती नजिकै आइसकेको छ। हरेक वर्ष कटान बढिरहेको छ,” उनी भन्छन्।
स्थानीय बासिन्दा आफैँ श्रमदान गरेर बालुवा र सिमेन्टका बोरा राख्ने, बाँस गाड्ने तथा तारजाली प्रयोग गर्ने काम गरिरहेका छन्। नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र नगर प्रहरीसमेत स्थानीयसँगै अस्थायी तटबन्ध निर्माणमा जुटेका छन्। तर ठूलो बाढी आएमा यस्ता संरचनाले लामो समय धान्न नसक्ने स्थानीयको अनुभव छ।
बाढीभन्दा कटानको त्रास
सुनसरी बाढी तथा डुबानको जोखिममा रहेको जिल्ला हो। सप्तकोशीसहित विभिन्न नदीमा आउने बाढीले हरेक वर्ष खेतीयोग्य जमिन, सडक, पुल तथा बस्तीमा क्षति पुर्याउँदै आएको छ। चिलिया र श्रीलङ्का टापुका बासिन्दाका लागि भने नदीको कटान थप गम्भीर समस्या बनेको छ।
सप्तकोशीको बहाव बढ्न थालेसँगै सुनसरी र उदयपुरको सीमामा पर्ने चिलिया टापु तथा आसपासका बस्तीमा जोखिम बढ्ने गरेको छ। नदीले धार परिवर्तन गर्दै पश्चिमतर्फ सर्न थालेपछि बाक्लो बस्ती र खेतीयोग्य जमिन थप जोखिममा परेको स्थानीय जनप्रतिनिधिको भनाइ छ।
सप्तकोशी कटान नियन्त्रण समितिका अध्यक्ष जयकुमार माझीका अनुसार कटान नियन्त्रणका लागि विगतमा बनाइएका करिब १८ स्परमध्ये नौवटा पूर्ण रूपमा क्षतिग्रस्त भइसकेका छन्। बाँकी संरचनासमेत नदीको कटानमा परिरहेका छन्।
उनका अनुसार हाल स्थानीय तह तथा सुरक्षा निकायको सहयोगमा बाँस गाड्ने, नाइलनको डोरीले बाँध्ने र बालुवा भरिएका बोरा राख्ने काम भइरहेको छ। तर यी उपाय तत्कालका लागि मात्र उपयोगी हुने भएकाले दीर्घकालीन रूपमा बलियो तटबन्ध र वैज्ञानिक नदी व्यवस्थापन आवश्यक छ।
६ सय परिवार प्रत्यक्ष जोखिममा
बेलका नगरपालिकाका प्रमुख अशोक कार्कीका अनुसार चिलिया र श्रीलङ्का टापु क्षेत्रमा करिब ६ सय घरपरिवार प्रत्यक्ष जोखिममा छन्। कोशी बक्राहा नदी नियन्त्रण आयोजनाले प्रारम्भिक चरणमा पाँच हजार पाँच सय बोरा र ७० थान डोरीजाली उपलब्ध गराएको छ।
बेलका–८ क्षेत्रमा गरिएको संरक्षण कार्यले केही राहत दिए पनि तल्लो तटीय क्षेत्रमा कटानको समस्या कायमै छ। गत वर्ष निर्माण गरिएका तारजालीयुक्त संरचनासमेत अहिले नदीको बहावमा पर्न थालेका छन्।
स्थानीय भीम राईका अनुसार असारदेखि सुरु भएको कटान वर्षा बढेसँगै अझ तीव्र हुने गरेको छ। बलौटे माटोका कारण नदीले दैनिक रूपमा जमिन बगाउँदै लगेको र संरक्षणका लागि राखिएका ढुङ्गा तथा तारजालीसमेत जोखिममा परेको उनको भनाइ छ।
कृषि र ग्रामीण अर्थतन्त्र संकटमा
चिलिया टापु तथा आसपासका क्षेत्रमा करिब तीन हजार मानिसको बसोबास छ। अधिकांश परिवारको आयआर्जन कृषि र पशुपालनमा निर्भर छ। धान, मकै, तरकारी, दुग्ध उत्पादन तथा पशुपालन यहाँको स्थानीय अर्थतन्त्रका प्रमुख आधार हुन्।
तर खेतीयोग्य जमिन क्रमशः नदीमा मिसिँदै जाँदा स्थानीयको आर्थिक आधारसमेत कमजोर बन्दै गएको छ। घर नजिकै नदी आइपुग्नु र बर्खा लागेपछि सम्भावित विस्थापनको तयारी गर्नुपर्ने अवस्थाले यहाँको दैनिक जीवनलाई असुरक्षित बनाएको छ।
स्थानीयका लागि वर्षायाम अब नियमित मौसम मात्र रहेन। यो घर, खेत र जीविकोपार्जन जोगाउने वार्षिक संघर्ष बनेको छ।
अस्थायी संरचनाभन्दा दीर्घकालीन योजना आवश्यक
बराहक्षेत्र नगरपालिकाले कटान प्रभावित क्षेत्रमा जेसिभी, ट्याक्टर, बालुवा ढुवानीका साधन, जाली, बोरा र सिमेन्टलगायत सामग्री परिचालन गरेर स्थानीय तथा सुरक्षा निकायसँग सहकार्य गर्दै आएको जनाएको छ।
नगरप्रमुख रमेश कार्कीका अनुसार कोशी कटान कुनै एक स्थानीय तहको सीमित समस्या नभई राष्ट्रिय सरोकारको विषय हो। स्थानीय तहको बजेट र स्रोतसाधनबाट मात्र यसको स्थायी समाधान सम्भव नहुने उनको भनाइ छ।
उनले सप्तकोशीको बहाव, नदीको धार परिवर्तन र कटानको वैज्ञानिक अध्ययन गरी आवश्यक स्थानमा तटबन्ध, ड्याम, स्पर तथा अन्य नदी नियन्त्रण संरचना निर्माण गर्न संघीय सरकारबाट दीर्घकालीन योजना आवश्यक रहेको बताए।
उनका अनुसार कटान बढेर बस्तीमा बाढी पसे ठूलो मानवीय तथा आर्थिक क्षति हुनसक्छ। त्यसैले पर्याप्त बजेटसहित संघीय सरकारको सक्रियता आवश्यक छ। आवश्यक परे सीमापार नदी व्यवस्थापनका विषयमा छिमेकी मुलुकसँग कूटनीतिक पहलसमेत गर्नुपर्ने उनको भनाइ छ।
पर्यटनको सम्भावना पनि जोखिममा
सप्तकोशी आसपासका टापु, नदी किनार, जैविक विविधता र ग्रामीण जीवनशैलीले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सक्ने सम्भावना बोकेका छन्। तर नदी कटान र बाढीको जोखिम बढ्दै जाँदा यस्ता क्षेत्रको पर्यटन पूर्वाधार विकाससमेत चुनौतीमा परेको छ।
स्थानीयको जीविकोपार्जन, कृषि, प्राकृतिक सम्पदा र सम्भावित पर्यटन क्षेत्रलाई एउटै दृष्टिकोणबाट हेरेर नदी व्यवस्थापन गर्न सके चिलिया तथा श्रीलङ्का टापु संरक्षणसँगै स्थानीय अर्थतन्त्रलाई समेत बलियो बनाउन सकिन्छ।
अहिले भने स्थानीयको प्राथमिकता एउटै छ—पहिले घर र जमिन जोगाउने। त्यसपछि मात्रै पर्यटन, पूर्वाधार र विकासका सपना अघि बढाउने।
सप्तकोशीको धार निरन्तर परिवर्तन भइरहँदा चिलिया टापुका बासिन्दाले वर्षेनी अस्थायी उपायमा भर पर्नुपर्ने अवस्था अन्त्य गर्न वैज्ञानिक अध्ययन, पर्याप्त लगानी र दीर्घकालीन नदी व्यवस्थापन योजना अपरिहार्य देखिएको छ।
