हिमले सेताम्यै बनेको माथिल्लो मुस्ताङ: साहसिक शीतकालीन पर्यटनको सम्भावना, तर यात्रामा उच्च जोखिम
मुस्ताङ । माथिल्लो मुस्ताङमा मङ्गलबार रातिदेखि परेको भारी हिमपातले स्थानीय जनजीवन प्रभावित बनेको छ भने अर्कोतर्फ यो क्षेत्र शीतकालीन सौन्दर्यले झन् आकर्षक देखिन थालेको छ। दुई फिटभन्दा बढी हिउँले ढाकिएका लोमान्थाङ र लोघेकर–दामोदरकुण्ड गाउँपालिकाका बस्ती तथा उच्च भेगले हिमाली पर्यटनको फरक अनुभूति दिन थाले पनि हालको अवस्थामा यात्रा अत्यन्त जोखिमपूर्ण बनेको छ।
यस वर्ष तेस्रो पटक परेको हिमपातपछि लोमान्थाङ क्षेत्र पुरै सेतो चादरले ढाकिएको छ। ऐतिहासिक दरबार, गुम्बा, पुराना बस्ती र खुला पठारहरू हिउँले सजिँदा दृश्यावलोकनका दृष्टिले आकर्षक देखिए पनि चिसो र अवरोधका कारण पर्यटक गतिविधि ठप्पप्रायः बनेको छ।
स्थानीयका अनुसार बस्तीमै बाक्लो हिउँ जमेकाले दैनिक आवागमन कठिन भएको छ। खानेपानीका धारा जम्दा हिउँ पगालेर प्रयोग गर्नुपर्ने अवस्था आएको छ भने परम्परागत घरका छानामा थुप्रिएको हिउँले संरचनात्मक जोखिम पनि बढाएको छ। यसले स्थानीय बासिन्दासँगै पर्यटकीय पूर्वाधारसमेत प्रभावित भएको छ।
भारी हिमपातका कारण जोमसोम–कोरला र कागबेनी–मुक्तिनाथ सडक पूर्ण रूपमा अवरुद्ध हुँदा मुक्तिनाथ दर्शन तथा माथिल्लो मुस्ताङ भ्रमणमा निस्किएका आन्तरिक तथा बाह्य पर्यटकहरू कागबेनी आसपासमै रोकिएका छन्। सडक बन्द भएसँगै सवारीसाधन चल्न नसक्दा शीतकालीन पर्यटन यात्रा हालका लागि स्थगित गर्नुपर्ने अवस्था सिर्जना भएको छ।
जिल्ला प्रशासन कार्यालय मुस्ताङले हिमपातका कारण उच्च जोखिम रहेको भन्दै पर्यटक, तीर्थयात्री तथा पदयात्रीलाई तत्काल यात्रा नगर्न आग्रह गरेको छ। मनाङ–मुस्ताङ पदमार्ग, मेसोकोन्तो, सरिबुङ, धौलागिरि पदमार्गलगायत चर्चित ट्रेकिङ रुटहरू पनि अस्थायी रूपमा बन्दजस्तै बनेका छन्।
पर्यटन व्यवसायीहरूका अनुसार हिमपातले तत्कालका लागि समस्या ल्याए पनि दीर्घकालमा भने सुरक्षित पूर्वाधार, शीतकालीन ट्रेकिङ र ‘स्नो–टुरिज्म’ जस्ता अवधारणालाई अघि बढाउन सकिने सम्भावना देखिएको छ। तर त्यसका लागि मौसम अनुकूलता, सडक खुला, उद्धार व्यवस्था र स्पष्ट सूचना प्रणाली अनिवार्य रहेको उनीहरूको भनाइ छ।
अहिलेका लागि माथिल्लो मुस्ताङको यो हिमाली सौन्दर्य टाढैबाट नियाल्ने र मौसम सहज भएपछि यात्रा योजना बनाउने नै उपयुक्त देखिएको छ।
