नारायणीमा लक्जरी जलयात्रा: ‘राइनो क्रुज’ले खोल्यो नयाँ पर्यटन करिडोर
नवलपुर । नारायणी नदी अब केवल धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको प्रतीक मात्र रहेन, यो नदी नेपालमा लक्जरी जल पर्यटनको नयाँ गन्तव्यका रूपमा उदाउँदै छ। करिब ५० करोड रुपैयाँ लगानीमा सञ्चालनमा आएको ‘राइनो क्रुज’ले नारायणीलाई पर्यटन नक्सामा नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटबाट सञ्चालनमा आएको यो क्रुज नेपालकै पहिलो नदी–आधारित लक्जरी जलयात्रा हो। आइतबार साँझ विधिवत् उद्घाटनपछि नियमित सेवा सुरु भएको क्रुजले धार्मिक, प्राकृतिक र मनोरञ्जनात्मक पर्यटनलाई एउटै यात्रामा जोड्ने प्रयास गरेको छ।
पर्यटन व्यवसायीहरूका अनुसार राइनो क्रुजले गैँडाकोट, नवलपुर र चितवन क्षेत्रलाई आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटकका लागि आकर्षक गन्तव्य बनाउनेछ। गैँडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारीले क्रुजलाई नगरको “पर्यटन गहना” भन्दै नदी पर्यटन प्रवर्द्धनमा आवश्यक पूर्वाधार सहयोग नगरपालिकाले गर्ने प्रतिबद्धता जनाए। उनले देवघाटधामदेखि त्रिवेणीधामसम्म जलयात्रा विस्तार गर्न सकिने सम्भावनालाई पनि जोड दिए।
जल पर्यटनसँग होटल व्यवसायलाई जोड्दै अघि बढाइएको यो परियोजनाले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने विश्वास व्यवसायीहरूको छ। होटल रिभर क्राउनका अध्यक्ष डा. तिलचन्द्र भट्टराईका अनुसार क्रुज र होटलबीचको सहकार्यले बसाइ अवधि (लेंथ अफ स्टे) बढाउने र पर्यटक खर्च स्थानीय स्तरमै टिकाउनेछ।
क्रुज सञ्चालक संस्था राइनो वाटर इन्टरटेनमेन्ट प्रालिका प्रबन्ध निर्देशक दीपक ढुङ्गेलका अनुसार देवघाटदेखि दक्षिणतर्फ नारायणीमा ४० किलोमिटर जलयात्राको अनुमति लिइएको छ। साढे दुई तले, ९५ फिट लामो र २१ फिट चौडा क्रुजमा एकपटकमा १५० यात्रुले सुरक्षित रूपमा जलयात्रा गर्न सक्ने व्यवस्था गरिएको छ। यो क्रुज यातायातभन्दा बढी मनोरञ्जनात्मक र अनुभवमूलक पर्यटनका लागि डिजाइन गरिएको उनले बताए।
पर्यटक लक्षित प्याकेजहरू पनि विविध छन्—ब्रेकफास्ट, लन्च र डिनर क्रुजिङदेखि विवाह, पास्नी, व्रतबन्ध, जन्मोत्सवजस्ता विशेष समारोहसम्म। सामान्य क्रुजिङ टिकट ५०० रुपैयाँबाट सुरु हुने व्यवस्था गरिएको छ भने डिनर क्रुजिङ तीन हजार रुपैयाँसम्म पर्छ। प्रत्येक यात्रुको १० लाख रुपैयाँ बराबरको बिमा गरिएको छ।
पर्यटन विज्ञहरूका अनुसार राइनो क्रुजले देवघाटधाम, मौलाकालिका, वाल्मीकि आश्रम, सौराहा हुँदै लुम्बिनीसम्म फैलिएको धार्मिक–प्राकृतिक पर्यटन करिडोर निर्माणमा योगदान पुर्याउन सक्छ। यसले नदी, संस्कृति, प्रकृति र लक्जरी आतिथ्यलाई एउटै अनुभवमा बाँध्ने सम्भावना बोकेको छ।
स्थानीय रोजगारी र उद्यममा पनि यसको प्रभाव देखिन थालेको छ। क्रुज र होटलमार्फत हाल ५० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् भने स्थानीय उत्पादन र सेवाको माग बढ्ने अपेक्षा गरिएको छ।
पर्यटन व्यवसायीहरूको भनाइमा, नारायणीमा सुरु भएको यो जलयात्रा केवल एउटा क्रुज परियोजना होइन, नेपाललाई दक्षिण एसियाको उदीयमान नदी पर्यटन गन्तव्यका रूपमा चिनाउने दीर्घकालीन सम्भावनाको सुरुवात हो।
