नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ४१औँ वर्षमा, डिजिटल र सामाजिक अभियानमा जोड
काठमाडौँ ।नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड चार दशकको यात्रा पूरा गर्दै ४१औँ वर्षमा प्रवेश गरेको छ। बैंकले ४० वर्षको निरन्तर सेवा अनुभवलाई उपलब्धिका रूपमा स्मरण गर्दै आगामी दिनमा थप सशक्त बैंकिङ सेवा विस्तार गर्ने प्रतिबद्धता जनाएको छ।
वार्षिकोत्सवको अवसरमा बैंकका अध्यक्ष पृथ्बीबहादुर पाँडेले संस्थाको सफलतामा योगदान पुर्याउने ग्राहक, कर्मचारी र सरोकारवालाप्रति आभार व्यक्त गर्दै पारदर्शिता, उत्तरदायित्व र नवप्रवर्तनलाई अझ मजबुत बनाउने धारणा राखे।
त्यस्तै, प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डेले डिजिटल रूपान्तरणलाई तीव्र बनाउँदै सेवा प्रक्रियालाई सरल, सुरक्षित र ग्राहक–मैत्री बनाउने दिशामा बैंक अघि बढिरहेको बताए। “समृद्धिको पथमा सँगै अघि बढ्दै” भन्ने नारालाई आत्मसात गर्दै आधुनिक प्रविधिमैत्री सेवा विस्तारमा जोड दिइने उनको भनाइ छ।
वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्व
बैंकले विगत आठ वर्षदेखि वित्तीय साक्षरतासम्बन्धी चित्रपुस्तक प्रकाशन गर्दै आएको छ। ४०औँ वार्षिकोत्सवका अवसरमा ‘३ आर सुन्दर संसार’ शीर्षकको आठौँ संस्करण सार्वजनिक गरिएको छ।
उक्त पुस्तकमा वातावरणीय प्रदूषण, प्राकृतिक स्रोत संरक्षण र जलवायु परिवर्तनजस्ता विषयलाई बालबालिकामैत्री शैलीमा समेटिएको बैंकले जनाएको छ। वातावरणीय संकटप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत यो पहल गरिएको हो।
यसै अवसरमा बैंकले नेपाल रेडक्रस सोसाइटी सँग सहकार्य गरी रक्तदान कार्यक्रमसमेत आयोजना गरेको थियो, जसमा कर्मचारीहरूको सक्रिय सहभागिता रहेको बैंकले जनाएको छ।
हाल बैंकले देशभर २६९ शाखा, २५७ एटीएम, ६५ एक्सटेन्सन काउन्टर तथा ६० शाखारहित बैंकिङ काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको छ।
