सांग्रिला डेभलपमेन्ट बैंकले पारित गर्यो १०.५२ प्रतिशत लाभांश, उज्ज्वल सत्याल अध्यक्ष
काठमाडौं — सांग्रिला डेभलपमेन्ट बैंकको २२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। बिहीबार सम्पन्न सभाले बैंकका सेयरधनीलाई कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको हो।
सभाबाट हाल कायम चुक्ता पुँजीको ६.५२६३ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित भएको बैंकले जनाएको छ।
बैंकका अनुसार ३ अर्ब ७३ करोड ४० लाख ६८ हजार ५०५ रुपैयाँ ५३ पैसा चुक्ता पुँजीको ६.५२६३ प्रतिशतका दरले २४ करोड ३६ लाख ९७ हजार १०२ रुपैयाँ ४७ पैसा नगद लाभांश वितरण गरिनेछ। उक्त रकममा करसमेत समावेश छ।
त्यस्तै, ४ प्रतिशत बोनस सेयरका रूपमा १४ करोड ९३ लाख ६२ हजार ७४० रुपैयाँ २२ पैसा बराबरको सेयर वितरण गरिने भएको छ। बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी बढेर ३ अर्ब ८८ करोड ३४ लाख ३१ हजार २४५ रुपैयाँ ७५ पैसा पुग्नेछ।
६ सदस्यीय सञ्चालक समिति चयन
साधारण सभाले आगामी चार वर्षका लागि ६ सदस्यीय सञ्चालक समिति निर्विरोध चयन गरेको छ। संस्थापक सेयरधनी समूहबाट उज्ज्वल सत्याल, सुशीलकाजी बानियाँ र श्यामकुमार शर्मा सञ्चालकमा चयन भएका छन्।
त्यस्तै, सर्वसाधारण सेयरधनीको तर्फबाट विष्णुप्रसाद ढकाल, कृष्णप्रसाद रेग्मी र भावना अग्रवाल सञ्चालक बनेका छन्।
नवनिर्वाचित सञ्चालक समितिको बैठकले उज्ज्वल सत्याललाई बैंकको सञ्चालक समिति अध्यक्ष चयन गरेको छ।
सभाले आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण पनि पारित गरेको छ। साथै, लेखापरीक्षक नियुक्ति, प्रबन्धपत्र संशोधन तथा मर्जर र प्राप्तिसम्बन्धी प्रस्तावलाई समेत स्वीकृति दिएको बैंकले जनाएको छ।
सांग्रिला डेभलपमेन्ट बैंकले हाल देशभर १०९ वटा शाखा कार्यालय र ३० वटा एटीएममार्फत बैंकिङ सेवा दिँदै आएको छ।
