कतारका प्रधानमन्त्रीसँग टेलिफोन संवाद, नेपाली नागरिकको सुरक्षाप्रति आभार व्यक्त
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल–थानीसँग टेलिफोन संवाद गर्दै कतारमा रहेका नेपाली नागरिकको सुरक्षा र हेरचाहका लागि धन्यवाद व्यक्त गरेकी छन्।
बिहीबार दिउँसो भएको उक्त संवादका क्रममा प्रधानमन्त्री कार्कीले पश्चिम एसिया क्षेत्रमा पछिल्ला दिनमा विकसित घटनाक्रमप्रति नेपाल सरकार चिन्तित रहेको बताइन्।
उनले कतारमा करिब तीन लाख ६० हजार नेपाली नागरिक कार्यरत रहेको उल्लेख गर्दै उनीहरूको सुरक्षा र संरक्षणमा कतार सरकारले देखाएको ध्यानप्रति नेपाल सरकार तथा नेपाली जनताको तर्फबाट कृतज्ञता व्यक्त गरिन्। “कतारमा रहेका नेपालीहरू सुरक्षित र राम्रोसँग हेरचाहमा रहेको जानकारी पाउँदा खुसी लागेको छ,” उनले भनिन्।
प्रधानमन्त्री कार्कीले वर्तमान क्षेत्रीय परिस्थितिलाई नेपालले नजिकबाट नियालिरहेको बताउँदै सबै पक्षलाई संयम अपनाउन, द्वन्द्व नबढाउन र नागरिकको सुरक्षालाई प्राथमिकता दिन आग्रह गरिन्। साथै उनले अन्तर्राष्ट्रिय कानुन, संयुक्त राष्ट्र संघको बडापत्र तथा मानवीय कानुनहरूको सम्मान र पालनामा जोड दिनुपर्ने नेपालको धारणा दोहोर्याइन्।
युद्ध कुनै पनि हालतमा शान्तिको विकल्प हुन नसक्ने उल्लेख गर्दै उनले समस्या समाधानका लागि संवाद र कूटनीतिक पहल नै प्रभावकारी माध्यम हुने बताइन्।
प्रधानमन्त्री कार्कीले नेपाल र कतारबीचको सम्बन्ध आगामी दिनमा उच्चस्तरीय भ्रमण, आर्थिक सहकार्य, सांस्कृतिक आदानप्रदान तथा जनस्तरको सम्बन्धमार्फत अझ सुदृढ हुने विश्वास पनि व्यक्त गरिन्।
संवादका क्रममा उनले कतारको सार्वभौम भूमिमा, विशेष गरी गैरसैनिक क्षेत्रमा भएको आक्रमणप्रति चिन्ता व्यक्त गर्दै कतारले वर्तमान चुनौतीलाई रचनात्मक ढंगले सामना गर्ने विश्वास व्यक्त गरिन्।
कतारका प्रधानमन्त्री अल–थानीले नेपालसँगको मित्रवत् र घनिष्ठ सम्बन्धको प्रशंसा गर्दै कतारको विकासमा नेपाली कामदारले महत्त्वपूर्ण योगदान पुर्याएको बताए।
उनले वर्तमान परिस्थितिमा कतारमा रहेका नेपाली नागरिकलाई कतारी नागरिकसरह सुरक्षा र संरक्षण उपलब्ध गराइने आश्वासन पनि दिए।
अल–थानीले आफ्नो देशले सार्वभौमिकता र राष्ट्रिय सुरक्षाको रक्षा गर्न आवश्यक कदम चालिरहेको बताउँदै कतार सधैं शान्ति र स्थायित्वको पक्षमा रहेको बताए।
यस कठिन घडीमा नेपालले देखाएको साथ र ऐक्यबद्धताप्रति उनले आभार व्यक्त गर्दै परिस्थितिमा सुधार आएपछि दुई देशबीचको सहकार्यलाई अझ विस्तार गर्नेमा जोड दिए।
