सुन्तलाले फेरिएको सुर्केमेलाको अर्थतन्त्र
म्याग्दी — कुनै समय धान, मकै, कोदो र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाका खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्। परम्परागत अन्नबालीबाट अपेक्षित आम्दानी नहुँदा विकल्प रोजेका किसानका लागि सुन्तलाखेती अहिले घरखर्चदेखि छोराछोरीको शिक्षासम्म धान्ने आम्दानीको मुख्य आधार बनेको छ।
सुन्तलाको व्यावसायिक उत्पादन बढेसँगै गाउँका किसानको आर्थिक अवस्था मात्र होइन, जीवनशैलीसमेत बदलिएको छ। सुन्तला बिक्रीबाट आएको आम्दानीले केही किसानले बेनी, पोखरा र बागलुङमा घर तथा घडेरी जोडेका छन् भने छोराछोरीलाई शहरका राम्रा विद्यालय र कलेजमा पढाउन थालेका छन्।
६५ वर्षीया बालकुमारी रोकाले यसको उदाहरण प्रस्तुत गर्छिन्। सात मुरी धान फल्ने खेतमा १४ वर्षअघि सुन्तलाका बिरुवा रोपेकी रोकाको बगैँचामा अहिले करिब २५० बोट छन्। ती बोटबाट उनले वार्षिक सात लाख रुपैयाँसम्म आम्दानी गर्दै आएकी छन्।
‘धानको तुलनामा सुन्तलाबाट राम्रो आम्दानी भएको छ,’ रोकाले भनिन्, ‘छोराछोरी विदेश गए पनि मलाई आफ्नै बगैँचामा काम गर्न रमाइलो लाग्छ।’
सुर्केमेलाकै द्रोपती थापाले पनि सुन्तलाखेतीबाट आम्दानी बढाउँदै लगेकी छन्। गत वर्ष करिब एक लाख ५० हजार रुपैयाँको सुन्तला बिक्री गरेकी उनले यस वर्ष तीन लाख रुपैयाँ बराबरको उत्पादन हुने अपेक्षा गरेकी छन्। फल दिने बोटको संख्या बढेकाले उत्पादनसँगै आम्दानी पनि बढ्ने उनको अनुमान छ।
विरोधबाट सफलताको यात्रासम्म
सुर्केमेलामा व्यावसायिक रूपमा सुन्तलाखेती विस्तार गर्ने सुरुआती किसानमध्ये ४६ वर्षीय डिलबहादुर केसी हुन्। करिब १५ वर्षअघि अंशमा प्राप्त धान फल्ने जमिनमा उनले सुन्तलाका बिरुवा रोपेका थिए। त्यतिबेला उनको निर्णयलाई आफन्त र छिमेकीले समेत आलोचना गरेका थिए।
धान फल्ने खेतमा सुन्तला लगाउँदा परिवारलाई समस्या पर्ने भन्दै आफूले आलोचना खेप्नुपरेको केसी सम्झन्छन्। तर, अहिले त्यही बगैँचाबाट भएको आम्दानीले उनको निर्णय सही साबित भएको छ।
२० रोपनी क्षेत्रफलमा करिब ४५० सुन्तलाका बोट लगाएका केसीले यस वर्ष १५ लाख रुपैयाँभन्दा बढीको सुन्तला बिक्री गरेका छन्। वैदेशिक रोजगारीका लागि पाँच वर्ष यूएई र मलेसिया बसेर फर्किएका उनी अहिले सुन्तलाखेतीसँगै मौरीपालन स्रोत केन्द्रसमेत सञ्चालन गरिरहेका छन्।
केसीका अनुसार सुर्केमेलामा करिब १६ जना किसान व्यावसायिक सुन्तलाखेतीमा संलग्न छन्। ४०० बोट सुन्तला लगाएका धनराज पुन पनि परम्परागत अन्नबालीभन्दा सुन्तलाबाट धेरै गुणा बढी आम्दानी हुने बताउँछन्।
उनका अनुसार आठदेखि १० मुरीसम्म धान उत्पादन हुने जमिनबाट सुन्तलाखेतीमार्फत वार्षिक १० लाख रुपैयाँभन्दा बढी आम्दानी गर्न सकिन्छ।
बगैँचामै पुग्छन् व्यापारी
सुर्केमेलाको भौगोलिक अवस्था, हावापानी र सिँचाइ सुविधाले सुन्तलाखेतीलाई अनुकूल बनाएको छ। यहाँ उत्पादित सुन्तला स्थानीय बजारमा मात्र सीमित छैन। काठमाडौं, पोखरा र बेनीका व्यापारी बगैँचामै पुगेर सुन्तला खरिद गर्ने गरेका छन्।
म्याग्दीमा अन्य क्षेत्रको तुलनामा सुर्केमेलामा सुन्तला छिट्टै पाक्ने भएकाले यहाँको उत्पादन मंसिरको दोस्रो सातादेखि नै बजारमा पुग्न थाल्छ। स्वाद, रंग र गुणस्तरका कारण माग राम्रो रहेको किसान बताउँछन्।
सडक पहुँचका कारण उत्पादन बजारसम्म पुर्याउन सहज भएकाले किसान थप क्षेत्रफलमा सुन्तलाखेती विस्तार गर्न उत्साहित छन्। कृषि ज्ञान केन्द्र र बेनी नगरपालिकाले बिरुवा वितरण, प्राविधिक तालिम तथा कृषि औजार उपलब्ध गराउँदै आएका छन्।
बालमखोला सिँचाइ योजना बनेपछि बगैँचामा सिँचाइ सुविधा पनि थप सहज भएको छ।
सडकले बजार विस्तार गर्ने अपेक्षा
बेनी नगरपालिका–४ का वडाध्यक्ष अणबहादुर खड्काका अनुसार सुर्केमेलासँगै बास्कुना र थामडाँडामा पनि व्यावसायिक सुन्तलाखेती विस्तार भइरहेको छ। उत्पादन बढ्दै गएपछि सडक पूर्वाधारलाई पनि प्राथमिकता दिइएको उनले बताए।
दुःखेखोलादेखि सुर्केमेला, बास्कुना र थामडाँडा हुँदै मरेक जोड्ने सडक स्तरोन्नतिको काम यसै वर्षदेखि अघि बढाउने तयारी छ। गण्डकी प्रदेश सरकार र बेनी नगरपालिकाको लागत साझेदारीमा तीन वर्ष सञ्चालन हुने योजनाका लागि चालु आर्थिक वर्षमा एक करोड ६० लाख रुपैयाँ विनियोजन गरिएको छ।
तीन वर्षमा पाँच करोड रुपैयाँ खर्च हुने गरी स्रोत सुनिश्चित गरिएको उक्त योजनाको ठेक्का सम्झौताको प्रक्रिया अघि बढेको वडाध्यक्ष खड्काले बताए। सुर्केमेला र सिँगा जोड्ने सडक पुल निर्माणका लागि डीपीआर तयार गरी संघीय सरकारसमक्ष प्रस्तावसमेत पठाइएको छ।
कृषि र ग्रामीण पर्यटनको सम्भावना
सुन्तलाखेतीले सुर्केमेलाको कृषि अर्थतन्त्र बदल्दै गए पनि यसले गाउँको पर्यटन सम्भावनालाई समेत जोड्न सक्ने देखिन्छ। बगैँचामा पाकेका सुन्तला, ग्रामीण जीवनशैली र पहाडी भूगोललाई कृषि पर्यटनसँग जोड्न सके किसानले उत्पादनको मूल्यसँगै पर्यटकीय गतिविधिबाट पनि अतिरिक्त आम्दानी लिन सक्ने सम्भावना छ।
हाल भने युवाको वैदेशिक रोजगारीप्रतिको आकर्षणका कारण कृषि मजदुरको अभाव सुन्तला किसानका लागि प्रमुख चुनौती बनेको छ। उत्पादन र बजारको सम्भावना बढिरहेका बेला श्रम अभाव समाधान गर्न सके सुर्केमेलाले सुन्तला उत्पादनको थप ठूलो केन्द्रका रूपमा आफ्नो पहिचान स्थापित गर्न सक्ने देखिन्छ
