देउवा पक्षले पाँच समिति गठन गर्यो
काठमाडौं — नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनलाई लक्षित गर्दै निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले तयारीलाई तीव्रता दिएको छ। महाधिवेशन व्यवस्थापनका लागि पक्षले पाँचवटा समितिको संयोजक तोकेको छ।
महाधिवेशन तयारी समितिको बैठकको निर्णयअनुसार मूल तयारी समितिका संयोजक शशांक कोइरालाले विभिन्न जिम्मेवारीका लागि संयोजक मनोनयन गरेका हुन्।
मनोनयनअनुसार प्रचारप्रसार समितिको संयोजकमा प्रकाशशरण महत चयन भएका छन्। त्यस्तै अतिथि सत्कार तथा समन्वय समितिको जिम्मेवारी एनपी साउदलाई दिइएको छ।
प्रशासन समन्वय तथा स्वयंसेवक परिचालन समितिको संयोजकमा मोहनबहादुर बस्नेतलाई तोकिएको छ। त्यसैगरी सांस्कृतिक समितिको संयोजकमा विद्या तिमिल्सिना र स्वास्थ्य समितिको संयोजकमा अमित कार्की मनोनयन भएका छन्।
महाधिवेशनको तयारीका क्रममा विभिन्न समितिलाई जिम्मेवारी बाँडफाँट गर्दै व्यवस्थापनका काम अघि बढाइएको देउवा पक्षले जनाएको छ।
नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन मंसिर २१, २२ र २३ गते आयोजना हुँदैछ। महाधिवेशनका लागि तयारी, प्रचारप्रसार, अतिथि व्यवस्थापन, स्वयंसेवक परिचालन तथा स्वास्थ्य सेवासम्बन्धी कामलाई प्रभावकारी बनाउन समितिहरू परिचालन गरिनेछ।
